वीरगंज | भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरी जीवन बीमा कार्यक्रममा हालसम्म ८९१ जना छोरीको बीमा गरिएको छ। यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका स्थायी बासिन्दा तथा सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिन्छ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३८ जना, २०८०/८१ मा ४१३ जना र चालु आर्थिक वर्षमा हालसम्म १४० जना छोरीको बीमा गरिएको छ।
भरतपुर महानगरले राष्ट्रिय बीमा कम्पनीमा १५ वर्षसम्म ५० हजार रुपैयाँ बीमा रकम बुझाउँछ। यसपछि बीमाबापत बीमा कम्पनीले छोरीको नाममा १ लाख रुपैयाँ प्रदान गर्ने प्रावधान छ। बीमा भइसकेका छोरीहरूको बीमा नवीकरणका लागि महानगरले वार्षिक ३,३२७ रुपैयाँ बुझाउँदै आएको छ।
महानगरले यो कार्यक्रमले छोरी–छोरा बराबरीको भावना फैलाउन, गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गराउने परिपाटीलाई रोक्न सघाउने विश्वास लिएको छ। साथै, महानगरले छोरीलाई लक्षित गर्दै विद्यालय मार्फत अन्य शिक्षा तथा जागरुकता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
यसरी भरतपुर महानगरपालिकाले छोरीहरूको भविष्य सुरक्षित गर्न, समाजमा लैंगिक समानताको सन्देश पुर्याउने उद्देश्यले बीमा कार्यक्रमलाई प्राथमिकता दिएको छ।