वीरगंज | आज कात्तिक कृष्ण त्रयोदशीका दिन यमपञ्चकको दोस्रो दिन, काग तिहार मनाइँदैछ। यस दिन कागलाई यमराजको दूत मान्दै, विभिन्न मीठो परिकार चढाई पूजा गर्ने परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्योदयको समयमा त्रयोदशी परेकाले आज काग तिहार मनाउन उपयुक्त दिन मानिएको हो।
धर्मशास्त्र अनुसार, कागलाई यमराजसमक्ष खबर पुर्याउने यमदूतका रुपमा लिने गरिन्छ। कागले राम्रो खबर लैजाओस् भन्ने कामना गर्दै यस दिन घरघरमा कागलाई मीठो परिकार चढाई खुसी पार्ने प्रचलन छ। विशेषगरी दही भात कागलाई अर्पण गरिन्छ, जसले यमराजसमक्ष राम्रो सन्देश पुर्याउने विश्वास छ। ‘काकेन दधि भक्षितम्’ भन्ने उक्ति अनुसार कागलाई दही भात मन पर्ने मान्यता छ, भनी धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।
यस अवसरमा काठमाडौंको कागेश्वरी महादेव मन्दिर र हनुमानढोका स्थित कागेश्वरी मन्दिरमा विशेष पूजा हुने चलन छ। यसैगरी हिजो मंगलबार धनतेरस पर्व पनि मनाइएको थियो। यस दिन गरगहना र भाँडाकुँडा किन्नाले लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता रहेको छ।
यसरी आज काग तिहारसँगै, धन त्रयोदशी र भाण्ड त्रयोदशीको पर्वको धार्मिक र सांस्कृतिक महत्व मनाइँदैछ।