बारा । सिकेंद्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित मालपोत कार्यालयमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा अवस्थित मालपोत कार्यालयको प्रांगणमा नेपाल लेखापढी कानुन व्यवसाय एसोसिएसन, इकाई कार्य समिति सिम्रौनगढ बाराद्वारा शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मालपोत कार्यालयका प्रमुख कौशल किशोर झा थिए भने इकाई अध्यक्ष रामलाल प्रसाद यादव र नापी कार्यालयका निमित्त कार्यालय प्रमुख तैब अन्सारी पनि उपस्थित थिए।
कार्यक्रमका क्रममा पटवारी अबास अन्सारीले मालपोत लेखा शाखाबाट तयार गरिएका कागजातहरू नापीमा छिटो पठाउने क्रममा ढिलाइ हुनुको कारण पैसाको चलखेल र सेटिङलाई बताएका छन्। उनले यो प्रक्रियामा सुधार आवश्यक रहेकोमा जोड दिए।
त्यस्तै, इकाई अध्यक्ष रामलालले मालपोत अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले सिम्रौनगढमा मालपोत कार्यालय ल्याउनका लागि धेरै संघर्ष र आन्दोलन गरेको स्मरण गर्दै, यसले किसानहरूको काम सहज बनाएको र अब केन्द्रसम्म नाम कमाउने समय आएको बताए।
कार्यक्रममा सम्पूर्ण कर्मचारी तथा लेखापढी पटवारीहरूको उत्साहजनक उपस्थिति थियो।