वीरगञ्ज | आर्थिक वर्ष शुरु भएको ६ महिना कटिसक्दा पनि पर्साका चार वटा स्थानीय सरकार बजेट ल्याउन असफल भएका छन् । जिल्लाको पकाहामैनपुर, विन्दबासिनी र सखुवा प्रसौनी गाउँपालिकाले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् ।
कतिपय स्थानीय तहमा भने बजेट आएपछि केन्द्रमा विवरण नपठाएका कारण छुट भएको पाइएको छ । पर्साको धोबिनी गाउँपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले गाउँपालिकाको बजेट साउन मसान्तमै पास भएको बताए । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट सार्वजनिक नगर्नेहरुको सूचीमा गाउँपालिकाकको पनि नाम छ । ‘हामीले बजेट पास गरेरै सामान्य तरिकाले कार्यान्वयन पनि गरिरहेका छौं,’ उनले भने, ‘केन्द्रमा विवरण नपठाउँदा छुट देखिएको हो ।’
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०६४ अनुसार १० असारमा सबै स्थानीय तहको बजेट आउनुपर्छ । नगरसभा तथा गाउँसभाबाट पारित नभएसम्म बजेट कार्यान्वयन गर्न मिल्दैन । यो बजेट १ साउनबाट कार्यान्वयनमा आउनुपर्छ । तर अहिले पर्साका चार लगायत देशभरका १५ स्थानीय तहले बजेट नल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
केन्द्रबाट स्थानीय तहमा चार प्रकारका अनुदान, राजस्व बाँडफाँट तथा प्राकृतिक स्रोतको बाँडफाँटमार्फत बजेट जाने गर्छ । सोही स्रोतलाई आधारमा मानेर स्थानीय तहले अनुमानित बजेट बनाएर गाउँसभामा प्रस्तुत गर्नुपर्छ । तर अझै बजेट नल्याउने स्थानीय तहलाई अब अनुदान रोक्का गर्न सकिने संघीय मामिला मन्त्रालयका प्रवक्ता भुपाल बरालले बताए ।onlinekhabar