वीरगंज । बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीनजिक सडक आइतबार बिहान धसिएको छ । सुनकोशी नदीले कटान गर्दै आएकाले करिब ५० मिटर सडक धसिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार धसिएको सडक क्षेत्रबाट शनिबार साँझसम्म यातायात सञ्चालन हुनसक्ने अवस्था थियो ।
सुनकोशीले कटान गर्दै छेउमा आइपुगेपछि खतराको संकेत राखिएको थियो । कालोपत्रे सडकसमेत पूरै धसिएर सवारी साधन वारपार हुनसक्ने अवस्था नरहेको एसपी काफ्लेले बताए । सुनकोशी–मरिण डाइभर्सनको सुरुङमार्गनजिकै सडक धसिएको हो ।
खुर्कोट–मूलकोट सडक शनिबार साँझसम्म प्रहरी, सेना र स्थानीय भएर सञ्चालनमा ल्याएका थिए । सुनकोशीको बहाव नघटेसम्म खुर्कोट–मूलकोट सडक पनि अवरुद्ध नै हुनेछ ।
नेपालथोक–खुर्कोट खण्डको कमेरेफाँटमा खसेको लेदोसहितको पहिरो शनिबारदेखि नै मेसिन लगाएर हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । नेपालथोक जिक रोशी खोलाले करिब ६० मिटर सडक पूरै बगाएको क्षेत्रमा भने बाढी घटेपछि मात्र अस्थायी सडक निर्माण सुरु हुने प्रहरीले जनाएको छ । बीपी राजमार्ग सञ्चालनमा ल्याउन ट्य्राक सडक खोल्ने विषयमा समेत छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए ।