रौतहट। रौतहट जिल्लामा प्रहरीको गस्ती टोलीले १ महिनाको अवधिमा ३२ लाख रुपैयाँभन्दा बढीको अवैध सामानसहित ३ जना तस्करलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतका विभिन्न युनिटबाट खटिएको गस्ती टोलीले साउन ३० गतेदेखि भदौ ३१ गतेसम्मको बीचमा तस्करीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार तस्करहरूले भन्सार छलि गरेर भित्र्याएको करिब ४ लाख ६३ हजार १४६ रुपैयाँ बराबरको लत्ताकपडा, ४ लाख २५ हजार ८४६ रुपैयाँ बराबरको किराना तथा खाद्यान्न, र तस्करीमा प्रयोग भएको १९ लाख ८६ हजार ४२३ रुपैयाँ बराबरको सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका तिनै तस्करलाई आवश्यक कानुनी कारबाहीका लागि मंगलवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। यस अपरेसनले भन्सार छलि गरेर हुने अवैध व्यापार नियन्त्रणमा प्रहरीको सक्रियता देखाएको छ।