वीरगंज । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेस गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने तयारी भएको हो ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा गएको जेठ १५ गते गठन भएको समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरूमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताले प्रहरीमा दिएको उजुरीलाई पनि दबाउन लगाएर अनुसन्धानमा अवरोध गरेको भन्दै संसदमा लगातार आवाज उठेपछि संसदीय छानबिन विशेष समिति गठन भएको हो ।
समितिलाई असोज ६ गतेसम्म समय रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ मा त्यता जाने कार्यक्रम रहेकाले हिजोको मन्त्रिपरिषद्को बैठकले आज मध्यरातिदेखि संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि समितिले यसै अधिवेशनमा प्रतिवेदन बुझाउने लक्ष्यसहित रातभर बैठक बसेको हो । गएराति अबेरसम्म बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेसहितलाई दोषी ठहरसहित प्रतिवेदन तयार भएको र कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन गर्न पत्राचार गर्ने तयारी भएको भनिए पनि समितिका सदस्यहरुले यसबारे औपचारिक जानकारी दिएका छैनन् ।