वीरगन्ज | वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा आज मासिक नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले गरिब तथा असहायहरूलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गर्दै आएको छ। प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजे देखि ५:०० बजे सम्म कार्यालयबाट नि:शुल्क कपडा वितरण गर्दै आएको बैंकले, आज करिब ८५० थान कपडा वितरण गरेको छ। यस अवसरमा कपडा बैंकका सचिव कन्हैया पटेलले नयाँ र पुराना कपडाहरू वितरण गरिएको जानकारी दिए।
कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा वरिष्ठ समाजसेवी तथा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि उपस्थित थिए। कार्यक्रममा विभिन्न सल्लाहकार, समाजसेवी, सामुदायिक प्रहरी तथा संस्थाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
प्रमुख अतिथि कुर्मिले कपडा बैंकले गरिब तथा असहायहरूको सेवामा ६ वर्षदेखि निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै, “जोसँग धेरै छ, दिएर जानुस्, जसलाई आवश्यकता छ, निशुल्क लिएर जानुस्” भन्ने अभियानको महत्वलाई जोड दिए। उनले समाज सेवामा आआफ्नो आम्दानीको ५-१०% योगदान गर्ने बानी बसाल्न सबैलाई आग्रह गरे।
वीरगन्ज कपडा बैंकले यस प्रकारको नि:शुल्क वितरण कार्यक्रमलाई निरन्तरता दिँदै आगलागी, बाढी जस्ता विपद्को बेला पिडितहरूको घरमा समेत कपडा र अन्य सामग्री सहयोग पुर्याउँदै आएको छ।