वीरगंज | बाराको कलैया स्थित बैंक रोडका स्थानीय बासिन्दा र व्यापारीहरूले सडक कालोपत्रे गर्न माग गर्दै निरन्तर धर्नामा बसेका छन्। उनीहरूले बुधवार पनि प्रदर्शन गर्दै, सडक शीघ्र मर्मतको माग गरेका छन्। मंगलबारदेखि सुरु भएको धर्नामा कलैया उपमहानगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष जटाशंकर सहनीको नेतृत्वमा आन्दोलन भइरहेको छ।
सहनीले स्थानीय व्यापारीहरूको समर्थनमा धर्ना अगाडि बढाइएको र पटक-पटक माग गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेकाले बाध्य भएर धर्नामा बसेको बताएका छन्। सडक वरपरका नाला निर्माण र अन्य प्रारम्भिक कामहरू पूरा भइसकेको भए पनि, सडक कालोपत्रे गर्ने काममा ढिलासुस्ती भइरहेको स्थानीयहरूले जनाएका छन्।
स्थानीयका अनुसार, ६ महिनाअघि नै सडक खनेर छोडिएको थियो, तर दबाबपछि केवल बेसमात्र तयार गरिएको छ। विवेकशील साझा पार्टीका बारा जिल्ला अध्यक्ष डा. सुशिल साहले २५० मिटर सडक बनाइनु नै आश्चर्यजनक भएको र नगरपालिकाको कामप्रति आक्रोश व्यक्त गरेका छन्।
व्यापारीहरूले सवारी साधनका कारण पसलका सिसाहरू फुट्ने गरेको र धूलोले गर्दा घरधुरीसमेत प्रभावित भएको बताएका छन्। स्थानीय संजय दासले धूलोले कपडा, ओछ्यानलगायत सबै चिज ढाकिने गरेको बताए।
कलैया उपमहानगरपालिकाले भने केही दिनभित्रै कालोपत्रे गर्ने काम सुरु हुने जानकारी दिएको छ। पानी नपरेमा काम एक-दुई दिनमै सुरु हुने बताइएको छ। धर्नामा किराना व्यवसायी संघका पूर्व अध्यक्ष विष्णु प्रसाद उपाध्याय, बलिराम दास, पुरुषोत्तम केशरीलगायतको सहभागिता रहेको छ।