वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई सरकारले हटाउने कदम चालिए कडा प्रतिकार गर्ने बताएको छ ।
उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरूले संसद्सँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरू प्रतिवाद गर्न तयार रहेको बताएको हो।
बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टिकरणको मौका दिनुपर्ने बताए।
उनले भने,’ यदि गलत थियो भने त १८ महिना अगाडि नै गलत थियो नि। आज आएर गलत भएको हो र ? त्यसैले उहाँहरूको इमान्दारितामा र दाउपेचमा प्रश्न उठ्छ। नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो ? त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो। अर्को कुरा यदि नराम्रो नै भयो भने नराम्रो भएपछि कानूनी प्रक्रिया छ नि। छानविन गर्न सकिन्छ। उहाँलाई स्पष्टिकरण दिने मौका दिनुपर्छ। त्यो सबै भएपछि बल्ल त्यहाँ पुग्ने हो।’
उनले आफूहरू सत्तारुढ दलहरूको आगामी कदमहरूलाई निकालीरहेको र उनीहरूको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने बताए।
उनले भने, ‘ कुनै पनि औपचारिक कदम चालिसकिएको छैन । यो नै निर्णय हो भन्ने निष्कर्ष सुनाउनुपर्ने अवस्था आएको छैन। उहाँहरूले कस्तो कदम लिनुहुन्छ त्यस अनुसार छलफल गर्नेछौँ । पर्ख र हेर को अवस्थामा छौँ। तर अर्को कुरा सरोकार छ, आक्रामक रुपमा हामी तयार छौँ। आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्नेकुरामा पूर्ण तयारी र सरोकार छ।’
उनले अगाडि, १८ महिना अगाडिको प्रकरण अहिले निकालिएको भन्दै अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरूलाई प्रश्न गरे।
उनले भने,’ हामीले कुनै गल्ती थिएन भनिरहेका छैनौँ। त्यो दुरुपयोग भएको हो। तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो ? एउटा प्रश्न हाम्रो। यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला नि।’
उनले आफूहरू उपसभामुखको रक्षाका निम्ति तयारी अवस्थामा रहेको बताए।