वीरगञ्ज । नेपाल सिएमए संघले रक्तदान कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको छ । नेपाल सिएमए संघ जिल्ला कार्यसमिति पर्साले २१ औँ स्थापना दिवसको अवसरमा नेपाल चिकित्सक संघको सभा हलमा रक्तदान कार्यक्रमको आयोजा गरेको हो ।
संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष रामेशवर प्रसादले रक्तदान गरेर जीवन दान गर्नुपर्नेमा जोड दिए । सिएमए संघले एउटै कार्यमा रहेकाहरुलाई एकिकृत गरेर पेशा र व्यवसायको हकहितमा काम गर्नुपर्ने उनको भनाई छ ।
सिएमएहरुले स्थानिय स्तरमा प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवाले सर्वसाधारणलाई निकै सहजता भइरहेको उनले बताए । संघिय संरचना अनूरुप स्थानिय, प्रदेश र केन्द्र गरी तिन तहका सरकार बनेपनि तिनै तहका सरकारका स्वास्थ्य सम्बन्धि निति नबनेकोले केही चुनौती एवम् समस्याहरु रहेको हुँदा काम गर्नमा कठीनाई भइरहेको पनि उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिला देखी नै सिएमएहरु जनताको सेवामा लागे पनि राज्यले दिनुपर्ने अधिकार अहिले सम्म नपाएको उनको टिप्पणी छ ।
‘नेपालको ईतिहासमा सन १९६२ देखी नै सिएमएहरुले सेवा दिदै आएको छ’ उनले भने ‘सन १९७८ मा आएर मात्र एमबिबिएस डाक्टरहरुले सेवा दिइरहेका छन्, यो भन्दा अगाडी को थियो भनेर सरकारले एक चोटि सोच्नुपर्छ ।’ सिएमएहरुले करिब ६२ वर्षदेखी सेवा दिदै आएको बताउदै केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएको सिएमएको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरे ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य रामदयाल महतो, स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुबास गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको सिएमए संघ पर्साका सहसचिव महम्मद रियाज हुसेनले जानकारी दिए ।
उनकाअनुसार अहिले रक्तदान कार्यक्रम भइरहेको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जले प्राविधिक सहयोग गरेको छ । सिएमए संघका पदाधिकारी, सदस्यसँगै अन्य व्यक्तिहरु पनि रक्तदान कार्यक्रममा सहभागी भइरहेको कार्यक्रम संयोजक राजेन्द्र साहले बताए ।