बिरगंज | बिरगंज महानगरपालिका सरसफाईलाई दिगो र प्रभावकारी बनाउन कडा कदम चाल्दै छ। महानगरले सडक तथा खाली स्थानमा जथाभावी फोहोर नगर्न सचेत गराउन माइकिङमार्फत टोलटोलमा पुगेर जनचेतना अभियान सुरु गरेको छ।
महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँका अनुसार, नगरलाई सफा राख्न नगर प्रमुखको सोचअनुसार माइकिङमार्फत नागरिक स्तरमै सचेतना जगाउने प्रयास भइरहेको छ। ‘जरिवानामात्रै नभई, नागरिकलाई फोहोर नगर्नुपर्ने धारणा बढाउन पनि यो अभियान थालिएको हो,’ मियाँले भने।
यस अभियान अन्तर्गत प्रत्येक दिन टोलटोलमा पुगेर नागरिकलाई फोहोर नगर्न सचेत गराइने छ। साथै, महानगरले शहरलाई अशोभनीय बनाउने पर्चा पम्प्लेट जथाभावी टाँस्न रोक लगाएको छ। अब कुनैपनि व्यक्ति वा संघसंस्थाले अनुमति बिना पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने व्यवस्था लागू गरिएको छ।
टाँस्नेमाथि कारबाही गर्नुका साथै पर्चामा उल्लेखित संस्थालाई पनि कारबाही गरिने मियाँले जानकारी दिए।