वीरगञ्ज। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा महागढीमाई नगरपालिकामा बीमा प्रबर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव र बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नगरपालिकाका कर्मचारीहरू, स्थानीय जनप्रतिनिधि, अगुवा कृषकहरू, पत्रकार, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले एकभन्दा बढी बीमा कम्पनीमा एउटै सम्पत्तीको बीमा गर्न मिल्ने कि नमिल्ने, दाबीको प्रक्रियामा कसरी काम हुने, धान मकैको बीमा कसले गर्ने, र कृषि बीमामा प्राविधिक सिफारिसका लागि आवश्यक कागजात के के हुनुपर्ने जस्ता विभिन्न प्रश्नहरू राखेका थिए।
नगर प्रमुख यादवले महागढीमाई नगरपालिकामा पशु बीमाको आवश्यकता रहेको र छोराछोरीको विवाह, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यका लागि बीमा गर्न सबैलाई आग्रह गर्नुभयो। साथै, नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुसवाहाले आगामी बजेटमा बीमा विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले बीमाका महत्त्वपूर्ण पक्षहरूको प्रस्तुति दिनुहुँदै, आगामी २०८१ सालको महागढीमाई मेलामा हुन सक्ने दुर्घटना तथा क्षतिको जोखिम न्यूनीकरणमा बीमाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। साथै, कुनै पनि बीमा सम्बन्धी प्रश्न वा कार्यक्रमका लागि प्राधिकरणले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणको सहायक निर्देशक रोमिला शर्माले गर्नुभयो।