वीरगञ्ज। पर्सा जिल्लाको प्रहरी कार्यालयमा नागरिकतासम्बन्धी उजुरीहरूको चाङ लागेको छ, तर अनुसन्धानको गति भने निकै सुस्त रहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार, जिल्ला प्रशासन कार्यालयबाट आएका १०२ वटा फाइल र स्थानीयहरूले दिएको १५ वटा जाहेरीसहित कुल ११७ वटा फाइलमा प्रहरीको अनुसन्धान जारी छ। तर, धेरै फाइलहरू वर्षौंदेखि थन्किएका छन्, र अनुसन्धानका लागि अघि नबढेको गुनासो बढ्दै गएको छ।
केही दिनअघि मात्र वीरगञ्जका व्यापारी निरञ्जन अग्रवाललाई झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। तर, यो मुद्दा विवादित बनेको छ, किनकि विगतमा तीन पटकसम्म अनुसन्धान भइ तामेलीमा राखिएको मुद्दा फेरि उठाइएको थियो।
व्यापारिक क्षेत्रका केही व्यक्तिहरूले नागरिकतासम्बन्धी उजुरीहरूलाई स्थानीय प्रहरी र प्रशासनले अनधिकृत लाभ लिने साधन बनाएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, अनुसन्धानमा ढिलाइ हुनुको पछाडि यस्ता कारणहरू जिम्मेवार छन्।
प्रहरी प्रवक्ता भारतीले भने अनुसन्धानका क्रममा धेरै आधारप्रमाणहरू बुझ्नुपर्ने भएकाले समय लाग्ने स्पष्ट पारे।
२०६३ सालमा सरकारले नेपाली नागरिकता वितरणको लागि विशेष टोली बनाएपछि नागरिकतासम्बन्धी उजुरीहरू बढ्न थालेका हुन्। कतिपय व्यक्तिहरूले व्यक्तिगत रिसइबी साँध्न पनि यस्तो उजुरी दिने गरेका कारणले पर्सामा अनुसन्धानको गति सुस्त भएको पाइएको छ।