वीरगञ्ज। पर्सा जिल्लाको इनर्वा गाउँमा खुलेआम तस्करीको गतिविधि भइरहेको खुलासा भएको छ। हार्डवेयर र कपडाको तस्करी यहाँबाट व्यापक रूपमा भइरहेको छ, जसमा सुरक्षाकर्मीको संलग्नताले स्थानीयहरूमा गम्भीर चिन्ता पैदा गरेको छ।
इनर्वा गाउँमा नेपाल प्रहरीको असईको कमान्डमा रहेको प्रहरी चौकी र चौबिसै घण्टा तैनाथ सशस्त्र प्रहरीको उपस्थितिले पनि तस्करी नियन्त्रण गर्न असमर्थ देखिएको छ। स्थानीयवासीहरूका अनुसार सुरक्षाकर्मीको सहमति र संरक्षण बिना यति ठूलो तस्करी सम्भव छैन।
तस्करीमा संलग्न मुख्य व्यक्तिहरूमा शत्रुधन, अनिल, दीपक, र रेखा रहेका छन्। शत्रुधनले ठूलो परिमाणमा कपडाको तस्करी गरिरहेका छन् भने अनिलले साइकल प्रयोग गरेर दर्जनौँ कामदारमार्फत हार्डवेयर र कपडाको तस्करी गरिरहेका छन्। भारतमा गजानन्द नामले परिचित अनिल नेपालमा सोही नामको आडमा तस्करीमा लिप्त छन्। यी व्यक्तिहरूले भन्सार छल्दै सामानको तस्करी गर्दै आइरहेका छन्।
दीपक र रेखा नामकी महिलाहरूले पनि तस्करीमा सक्रिय रूपमा संलग्न रहेको पाइएको छ। तस्करीका लागि मुख्य रूपमा एक दर्जन महिलाको समूह र साइकलमा तस्करी गर्ने चार जनाको समूह सक्रिय रहेको छ। यी समूहहरूले कपडा र हार्डवेयरका सामान तस्करी गरेर लगानीकर्ताको गोदाममा पुर्याउने कार्य गर्दै आएका छन्।
हाल इनर्वा गाउँस्थित प्रहरी चौकीमा असई मुन्ना साहको नेतृत्व रहेको छ। पर्सा प्रहरीमा असई दर्जाका लागि इनर्वा चौकीलाई अतिरिक्त कमाइको स्रोत मानिन्छ। यस कारण यहाँ टेन्डर हालेर जाने प्रचलन रहेको छ। एक असईले भने, “टेन्डर हालेर गएपछि तस्करी गरेर उठाउनै पर्यो।” जिल्ला प्रहरी कार्यालयका एसपी कुमोद ढुङ्गेलले तस्करी नियन्त्रणका लागि विभिन्न प्रयास गरे तापनि इनर्वा गाउँमा भने तस्करी नियन्त्रणमा सुधार भएको देखिएको छैन।
स्थानीय र सुरक्षाकर्मीको मिलेमतोले तस्करी नियन्त्रणमा चुनौती देखिएको छ भने कानुनी कारबाहीमा थप कठिनाइ उत्पन्न भएको छ।