बारा। जिल्ला प्रशासन कार्यालय बाराले तीज पर्वमा हुने अनावश्यक खर्च र भडकिलो कार्यक्रमहरू नगर्न र नगराउन कडा निर्देशन जारी गरेको छ। प्रशासनले आइतबार सूचना जारी गर्दै तीज पर्वलाई सादगीपूर्ण तरिकाले मनाउन सबैलाई आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा तीज पर्वको मौलिकता र सांस्कृतिक महत्त्वको संरक्षण गर्न आग्रह गरिएको छ। साथै, भडकिलो कार्यक्रम आयोजना गरेमा कानूनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।
तीज पर्व नेपाली महिलाहरूले भगवान शिव–पार्वतीको पूजा गरी परिवारको सुख, सुस्वास्थ्य, र दीर्घायुका लागि उपवास बस्ने परम्परागत पर्व हो। प्रशासनले तीज पर्वमा हुने अनावश्यक तडकभडकले यसको मौलिकता बिग्रन सक्ने भन्दै सजग रहन आग्रह गरेको छ।
सामाजिक व्यवहार सुधार ऐन, २०३३ अनुसार, धार्मिक, सामाजिक र सांस्कृतिक पर्वहरूको आयोजनामा अनावश्यक खर्च गर्न र तडकभडक देखाउन प्रशासनले प्रतिबन्ध लगाएको छ। उल्लंघन गरेमा कानूनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।