वीरगंज | नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गर्दै पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतवार बिहान मन्त्री चौधरीले रंगशालाको अवस्था अवलोकन गरेका थिए, जसमा उनले रंगशालाको जीर्ण अवस्थामा चिन्ता व्यक्त गर्दै सुधारको आवश्यकता औंल्याए। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको पहलमा संघीय र प्रदेश सरकारका मन्त्रीहरूले संयुक्त रूपमा रंगशालाको निरीक्षण गरेका हुन्।
निरीक्षणको क्रममा मन्त्री चौधरीले भने, ूयति राम्रो रंगशाला हुँदा पनि व्यवस्थापन हुन सकेको छैन। जीर्ण अवस्थामा छ। सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेपछि अवलोकन गर्न आएको हुँ। मैले नारायणी रंगशालालाई उच्च प्राथमिकतामा राखेको छु।ू मन्त्री चौधरीले मधेश प्रदेशका तीन वटा रंगशालाहरूका लागि बजेट छुट्याइएको नभएको उल्लेख गर्दै, आफैंले पहल गरेर बजेट बिनियोजन गराउने आश्वासन दिए। उनले एघारौं खेलकुद प्रतियोगिता वीरगञ्जसहित मधेश प्रदेशमा सञ्चालन गर्ने तयारी भइरहेको बताए, जसका लागि रंगशालाको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता छ।
जनकपुर र वीरगञ्जका रंगशालाहरूको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० मागिएको र निर्माण तथा मर्मतसम्भारका लागि प्रक्रिया थालिएको जानकारी पनि मन्त्री चौधरीले दिए। उनले स्थानीय तहसँग सहकार्य गर्दै आवश्यक पर्ने कभर्ड हल लगायतका संरचनाहरू निर्माण गर्न जोड दिए। विकासको मामिलामा नेपाल सरकार कुनै बाधक नबन्ने र समन्वय गर्न सदैव तयार रहेको कुरा उनले स्पष्ट पारे। नारायणी रंगशालाको पुनर्निर्माणले वीरगञ्जसहित मधेश प्रदेशको खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। मन्त्री चौधरीको प्रतिबद्धता अनुसार, यो रंगशाला भविष्यमा खेलकुद गतिविधिहरूका लागि एक महत्वपूर्ण केन्द्र बन्ने आशा गरिएको छ।