वीरगंज । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुलाएको हो।
कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेश गर्नुपर्ने छ। परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ। भौतिक रूपमा उपस्थित भएर र अनलाइनबाट आवेदन दिन व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ। उद्यमीले परियोजना प्रस्ताव iedi.org.np बाट पनि भर्न सक्नेछन् ।
उपत्यकाबाहिरका उद्यमीलाई सहज बनाउन अनलाइनमार्फत आवेदन दिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ।
नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरिएको हो।
स्टार्टअप उद्यम कर्जा लागि उद्यम-व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, प्राइभेट फर्म, साझेदारी फर्म कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा दर्ता भएको, वार्षिक आर्थिक कारोबार १५ करोड रुपैयाँ ननाघेको, नवीन एवं सिर्जनशील सोचलाई उद्यम-व्यवसायका रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको हुनुपर्नेछ।
कार्यविधि अनुसार उद्यम तथा परियोजनालाई धितो मानेर ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन सकिने छ। कार्यविधिमा स्टार्टअप उद्यमका लागि निश्चित योग्यता तोकिएको छ।
यस्तो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ।ढिलोमा कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजबापतको रकम फिर्ता गर्न शुरु गर्नुपर्ने छ। कार्यविधिबमोजिम बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोका रूपमा राख्नुपर्नेछ।
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपैयाँ विनियोजन गरेको छ। तोकिएको मापदण्ड पूरा गरेका ७०० उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने प्रतिष्ठानले जनाएको छ।
गत आर्थिक वर्षमा १६५ उद्यमीले न्यूनतम पाँच लाखदेखि २० लाख रुपैयाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए। गत वर्ष स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रकम विनियोजन गरेको थियो।