बारा । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाहका गगन बहादुर आले मगरले आफ्नो स्वर्गीय पत्नी टङ्कमायाको १३ औँ पुण्य तिथिको अवसरमा स्थानीय विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेका छन्। आलेले करिब २४ हजार रुपैयाँ बराबरका १५ सय थान कापी, कलम, र पेन्सिल गरी तीन वटा विद्यालयलाई प्रदान गरेका हुन्।
शैक्षिक सामग्री प्राप्त गर्ने विद्यालयहरूमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बालबालिका आधारभूत विद्यालय लामिडाँडा, र वडा नम्बर १६ डकाहमा रहेको मौवादेवी माध्यमिक विद्यालय रहेका छन्।
टङ्कमाया आलेको निधन यसै भाद्र २ गते ७२ वर्षको उमेरमा घाँटी सम्बन्धी समस्याका कारण आफ्नै निवास डकाहमा भएको थियो। उनी समाजसेवी गगन बहादुर आलेकी जेठी श्रीमती थिइन्।
यसअघि पनि आलेले विभिन्न संस्थामार्फत यी विद्यालयका बालबालिकाहरूका लागि पोसाक, जुत्ता, र शैक्षिक सामग्री वितरण गर्दै आएका थिए। बडहर्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक राजेश्वर यादवले गगन बहादुर आलेको योगदानलाई उच्च सम्मान गरेका छन्।
बालबालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जीवन खतिवडाका अनुसार, आलेद्वारा प्रदान गरिएका शैक्षिक सामग्रीले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूको शैक्षिक यात्रालाई सहज बनाएको छ। विद्यालयले यी सामग्रीहरू आवश्यकता अनुसार वितरण गर्दै जाने जनाएको छ। गगन बहादुर आलेको यो समाजसेवी कार्यले स्थानीय समुदायमा सकारात्मक सन्देश फैलिएको छ।