वीरगंज | कलैया उपमहानगरपालिका-१०, निलकण्ठवामा रहेका माछापालक किसान दशैं ठाकुर चिन्तित छन्। उनको पोखरीमा रहेका माछाहरू अचानक मर्न थालेपछि ठूलो क्षति भएको छ। ठाकुरका अनुसार, सोमबार र मंगलबार दुई दिनमा मात्रै १० क्विन्टलभन्दा बढी माछा मरेका छन्, जसबाट १० लाखभन्दा बढीको आर्थिक क्षति भएको छ।
मरेका माछाहरू ग्रास, रोहु, बिग्रेट जातिका रहेका थिए। यस घटनापछि ठाकुरले विष हालेर माछा मारेको आशंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पनि पोखरीमा विष हालिएको हुनसक्ने संकेत गरेका छन्। तर, यो आशंकाको पुष्टि गर्ने ठोस प्रमाण अहिलेसम्म फेला नपरेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिएका छन्।
प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ र वास्तविक कारण पत्ता लाग्न अझै समय लाग्ने बताइएको छ। यो घटनाले अन्य माछापालक किसानहरूलाई पनि चिन्तित बनाएको छ।