वीरगञ्ज । आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले वर्तमान सरकारलाई ‘लुटेराहरूको सरकार’ भनी कठोर आलोचना गरेका छन् । काठमाडौँमा मङ्गलवारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसकेको दाबी गरेका छन्।
उनले प्रमुख पार्टीका शीर्ष नेताहरूको सत्ता स्वार्थले देशलाई लज्जित बनाएको आरोप लगाए। साथै, अत्यधिक राजनीतिक गतिविधिका कारण प्रदेश र स्थानीय सरकार सहज रूपमा सञ्चालन हुन नसकेको गुनासो उनले व्यक्त गरे। साहले राज्यको मातहत रहेका संस्थाहरूलाई दोहन गरी डुबाउने काम भइरहेको आरोप लगाउँदै भने, “देश असफलताको सङ्घारमा छ। बरबाद हुँदै छ। जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ।”
अध्यक्ष साहले दुई प्रमुख दलका नेताहरूको सत्ता स्वार्थका कारण जनतामा विश्वास हराउँदै गएको बताउँदै भने, “दुई नेताहरूको सत्ता स्वार्थले लाजलाई पनि लजाएको छ। जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा, आगामी पुस्ताले के सिक्ने तपाईँहरूबाट?”
उनले वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन गर्न नदिएको भन्दै तेस्रो जनआन्दोलनको आवश्यकता रहेको धारणा व्यक्त गरे। बैठक दुई दिनसम्म चल्नेछ, जसमा सडक आन्दोलनका केही कार्यक्रमहरू तय गरिने जानकारी अध्यक्ष साहले दिए।
आमजनता पार्टीको केन्द्रीय समितिको बैठक मङ्गलवार र बुधवारसम्म चल्नेछ, जसमा पार्टीका नेताहरूले आगामी रणनीतिहरूमा छलफल गर्नेछन्।