वीरगंज | खानेपानी मन्त्री प्रदीप यादवले देशभरका खानेपानी समस्याको समाधान गर्न सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए। सोमबार आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै जानु र त्यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता अपरिहार्य रहेको बताए।
मन्त्री यादवले हिमालका सेता चिटिक्क हुँदै कालो हुने, पहाडका पानीका मुहान सुक्न थाल्ने र चुरेको दोहनले मधेशमा चापाकलहरू सुक्न थाल्नुलाई जलवायु परिवर्तनका गम्भीर प्रभावहरूका रूपमा प्रस्तुत गरे। उनले जलस्रोतको वैज्ञानिक अध्ययन गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।
“विश्वले निकट भविष्यमा पानीकै कारण ठूलो चुनौती सामना गर्ने देखिन्छ। नेपालले समस्या गम्भीर बन्नुअघि नै सजग हुनु आवश्यक छ,” मन्त्री यादवले भने। उनले खानेपानीसम्बन्धी ऐन, नियमावलीमा भएका समस्याहरू समाधान गर्दै अघि बढ्न सकिने स्पष्ट पारे।
मन्त्री यादवले उपभोक्ता महासंघलाई जनताको घरसम्म पानी पुर्याएकोमा धन्यवाद दिँदै बिजुली र अन्य सुविधामा छुटको व्यवस्था गर्नुपर्ने कुरा उठाए। उनले साना उपभोक्ता संस्थाहरूलाई एकीकृत गरी काम गर्नुपर्ने सुझाए।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले उपभोक्ता समितिहरूलाई व्यावसायिक उद्देश्य राखेर अघि बढ्न आग्रह गरे। महासंघका अध्यक्ष राजेन्द्र अर्यालले कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने माग गरे।
गोष्ठीमा निर्माण, मर्मत कार्य, पाइप बिछ्याउने समन्वय र अन्य चुनौतीबारे चर्चा गर्दै विशेषज्ञहरूले गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए। मन्त्री यादवले चितवनका विभिन्न खानेपानी आयोजनाको अनुगमन गर्दै उनीहरूको स्थिति र चुनौतीहरूको अवलोकन गरे।