वीरगंज | सरसफाइको अभावमा अस्पताल दुर्गन्धित बनेको थियो । फोहोरको प्रत्यक्ष मारमा बिरामी थिए । अस्पताल प्रांगणमा जताततै चौपायाको गोबर हुन्थ्यो । अस्पतालका डेलिभरी, सर्जिकल, ओपीडीलगायत सबै कक्षमा फोहोर देखिन्थे ।
बिरामीहरू नाक थुनेर उपचार गराइरहेका हुन्थे । प्रसूति कक्षको प्यासेजमै रगतले भिजेको सेनिटरी प्याड जताततै फालिएको हुन्थ्यो । अस्पताल दुर्गन्धित बन्दै गए पनि प्रशासनले चासो लिँदैन्थ्यो ।
अस्पतालको शौचालय पनि फोहोर नै देखिन्थ्यो । शौचालय जान सक्ने अवस्था थिएन । बाटोमै दिसा थुप्रिएको हुन्थ्यो । फोहोरका कारण अस्पताल नै थला परेजस्तो देखिन्थ्यो । अस्पतालमा सुर्तीजन्य पदार्थ सेवन गरी जथाभावी थुकेको हुन्थ्यो । कतिपय ठाउँमा ५ सय ५१ र कतिपय ठाउँमा १ हजार जरिवाना लाग्ने उल्लेख हुन्थ्यो । तर, अस्पतालको भित्ता रातो मात्र होइन, कालै बनेको थियो ।
स्वास्थ्यकर्मी पनि अस्पताल फोहोरले दुर्गन्धित बनेको गुनासो गर्थे । मास्क लगाएर सेवा दिनुपर्ने बाध्यता थियो । जहिल्यै यस्तै हुन्थ्यो । तैपनि कसैले वास्ता गर्दैन्थ्यो । अस्पताल सफा राख्न स्विपर पनि थियो । कार्यालय सहयोगी पनि थियो । खर्च पनि हुन्थ्यो तर खर्चअनुसार काम हुँदैन्थ्यो ।
धेरैलाई अस्पतालको सेवाप्रति भरोसा नभएर हुन सक्छ, बिरामी पर्दा प्रायःजसो धरान, विराटनगर, काठमाडौं र छिमेकी मुलुक भारतको दरभंगा, पटनाका अस्पताल पुग्थे ।
केही वर्षअघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि सेवामा सुधार भएको छ । मधेस सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेस प्रदेशमै नमुना अस्पतालको रूपमा विस्तार भएको छ ।
पुराना र खिया लागेर फालिएका शय्या, लकर टेबुल, कुर्सीलगायतका सामानलाई सफा गरेर रंगरोगन गराए । अस्पतालभित्र असरल्ल छरिएका पुराना बेड तथा अन्य सामग्रीहरूलाई बेल्डर र वेल्डिङ मेसिनको सहयोगले पुरानै बेडलाई मर्मत सम्भार गरी नयाँ प्रारूपमा ढालिएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादव बताउँछन् ।
बिरामीको चापले कोचाकोच हुने र बिरामीले शय्या पाउन मुस्किल हुने समस्यालाई जेनतेन पुरानो बेडहरूलाई नयाँ प्रारूपमा ढालेर उपकरणको व्यवस्थासँगै सेवासुविधा बढेपछि अस्पतालले जनताको विश्वास बटुल्न थाल्यो र बिस्तारै बिरामीको चाप बढ्न थालेको रजिष्ट्रार डा. यादवको दाबी छ । अञ्चल अस्पताल भएको बेलामा मुस्किलले दैनिक दुई सय जना बिरामी आउने अस्पतालमा अहिले दैनिक करिब आठ सय दैनिक बिरामी पुग्ने गरेको छ । अहिले अस्पताल दुई शय्याबाट लगभग चार सय शय्याको भएको छ । विशेषज्ञ सेवा २० बाट ५५ पुगेको छ ।
विशेषज्ञ चिकित्सक, बेडको अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुँदा अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । तर, मधेस सरकार मातहत आएसँगै अस्पतालले दिने सेवादेखि सरसफाइमा सुधार आएको छ । प्रदेश सरकारले यसलाई पाँच सय बेडको बनाउने निर्णय गरे पनि अहिले चार सय बेडको सेवा दिँदै आएको छ ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुईदेखि अढाइ सयसम्म बिरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ७ देखि ९ सयसम्म दैनिक बिरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको सहज रूपमा भन्न सकिन्छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधामका उपकुलपति डा. अंकुर साहले प्रतिष्ठान भएपछि दर्जनौं सेवा थप गरेको जनाएका छन् । ‘क्यान्सर ओपीडी, एनआईसी, आँखा विभाग, न्युरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार गरेको छ । समयमा अस्पताल नआउने कर्मचारी प्रवृत्तिलाई निरुत्साहित गर्न अस्पतालमा बायोमेट्रिक हाजिर गर्नुपर्ने प्रावधान लगाइएको छ’, उपकुलपति डा. साहले भने ।
सेवालाई चुस्तदुरुस्त बनाउन टोकन सिस्टम र माइकिङलगायतका व्यवस्था गरिएको छ । इमरजेन्सी सेवालाई प्रभावकारी बनाउन एजडीयू सेवा लागू गरेको बताउँदै डा. साहले भने, ‘पहिला इमरजेन्सी सेवा प्रभावकारी थिएन । कुनै बिरामी इमरजेन्सीमा आउँदा सामानको अभावमा उपचारमा कठिनाइ हुँदै आएको थियो । तर, अहिले इमरजेन्सीमा १० बेडको एजडीयू सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधार आएको छ ।’
सीमित समयका लागि सञ्चालन हुने ल्याब सेवालाई अहिले चौबिसैघण्टा सञ्चालन गरिरहेको उनले बताए । लामो समयदेखि लेप्रोस्कोपी मेसिन थन्काएर राखिएको थियो । तर, अहिले मेसिन सञ्चालनमा छ । त्यसैगरी, गम्भीर प्राकृतिका शल्यक्रिया गर्न तीनवटा मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याइएको छ । आफूले जिम्मेवारी सम्हाल्नासाथ अस्पतालको दुरवस्था बदल्न शौचालयको सरसफाइ र ढोकाहरू फेर्ने काम थालनी गरेको डा. विनोदकुमार यादव बताउँछन् ।
अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचार सहजताका लागि अस्पतालभित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको रजिस्ट्रार डा. विनोदकुमार यादवले बताए । प्रतिष्ठानमा एमआरआई मेसिन, क्याथ ल्याबलगायतका अन्य सेवा सञ्चालनमा रहेको डा. यादवको भनाइ छ । उनल भने, ‘प्रतिष्ठानले अहिले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन जोड दिएको छ ।’
स्वास्थ्य सेवामा प्रदेशका सबै नागरिकको पहुँच अभिवृद्धि गर्दै सरल र सहज रूपमा स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनासँगै बीएस्सी नर्सिङ, बीपीएच, बीएमएलटी र बीएनएस कक्षा सञ्चालन गर्दै आएको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ अनुसार स्थापना भएको प्रतिष्ठानले स्थापनाको छोटो समयमै महत्त्वपूर्ण चार प्राज्ञिक कक्षा सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालनसमेत गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले बताए ।
चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी २०७८ मंसिर महिनादेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्स सञ्चालन गर्दै आएको प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्सअन्तर्गत बीएनएस संकायमा, बीएस्सी नर्सिङ, बीपीएच र बीएमएलटीको अध्ययन अध्यापन गराइरहेको छ ।
प्रादेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउँदै उपनिर्देशक डा. कृष्णचन्द्र दासले भने, ‘हामीले आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छौं । यो अस्पताललाई प्रदेशस्तरको बनाउनमा प्रदेश सरकार सक्रियतापूर्वक लागेकै कारण हामी यहाँसम्म गर्न सक्षम भएका छौं ।’
अस्पतालले ल्याब स्थापना, आवश्यक जनशक्ति व्यवस्थापन र अक्सिजन प्लान्ट स्थापना तथा खोप अभियानलाई तीव्रता दिएको छ । जनकपुरधामको मुजेलियास्थित मणिपालको भवन मर्मत सम्भार गरी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी आईसीयू र एचडीयू बेडसहितको एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । उपनिर्देशक केडी दासले अस्पतालको शाख र स्तरलाई तलबाट माथि ल्याउन दिनरात एक गुर्नुपरेको सुनाउँदै भने, ‘संस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने लक्ष्य लिएर काम गर्दा देशकै एउटा उत्कृष्ट अस्पताल बनाउन सम्भव भएको हो । काम गर्ने इच्छा शक्ति र सबैको सहयोगबाट सेवा प्रवाहमा प्रदेश अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये एउटा बन्न सफल भएको छ ।’
प्रदेश सरकार मातहत रहेको अस्पताललाई सुविधायुक्त बनाउन मधेस सरकारले पनि ठूलो सहयोग गरिरहेको छ । उत्कृष्ट सेवासँगै अस्पतालको सरसफाइ, बगैंचा व्यवस्थापनजस्ता कामलाई पनि उत्तिकै महत्त्व दिने गरेको रजिस्ट्रार यादव बताउँछन् । ‘पहिल्यैभन्दा अस्पतालभित्र र बाहिरको सरसफाइ, सुन्दर बगैंचा, पानीको व्यवस्थापनजस्ता कुरामा सुधार भएको अनुभूति भयो’, महोत्तरी रामगोपालपुर नगरपालिकाबाट उपचारका लागि आएका रामशोभित यादवले भने ।
मधेसका जनतालाई राहत
अस्पताल प्रांगणमा फार्मेसी, एम्बुलेन्स सेवा सञ्चालन छ । बिमामा उपचार, जनरल, इमरजेन्सी र निःशुल्क औषधि वितरण गर्ने फार्मेसी चलाइएको छ । अपरेसन थिएटर, देशको प्रसूति गराउन प्रादेशिक अस्पताल जनकपुर नै उपयुक्त छ ।
अस्पतालका उपनिर्देशक कृष्णचन्द्र दासले भने, ‘अपरेसनका लागि धेरै समय कुर्न पर्दैन । अस्पतालले अहिले डायलाइसिस, आईसीयू, एनआईसीयू, म्यामोग्राफी, एमआरआई, सीटी स्क्यानजस्ता सेवा दिने गरेको छ । मुटु, हाडजोर्नी, न्युरोसर्जरी, नाक, कान, घाँटी, पत्थरीलगायतका शल्यक्रिया अस्पतालमा हुने भएकोले मधेसवासीलाई ठूलो राहत भएको छ ।’
चुनौतीमा अवसर
प्रदेश अस्पताललाई राम्रो बनाउने क्रममा धेरै खालका चुनौतीसँग जुध्नु परेको रजिस्ट्रार डा. विनोद यादव बताउँछन् । ‘धेरैले आक्षेप पनि लगाए । तर हिम्मत हारिएन । चुनौतीलाई अवसरको रूपमा लिइयो’, डा. यादवले भने ।
प्रतिष्ठानको तीन उद्देश्य
मधेस स्वास्थ्य प्रतिष्ठानको दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा र सर्वसुलभ रूपमा विशिष्ठीकृत स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य अनुसन्धान र नवीनताको खोजी गर्ने मुख्य अभिप्राय हो ।
प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहका अनुसार हाल अस्पतालमा साइक्र्याट्रिक वार्ड पनि सुरु गरिएको छ भने मिर्गौलाका बिरामीलाई डायलासिस सेवा उपलब्ध छ । अब प्रतिष्ठानलाई प्रदेशका आठवटै जिल्ला अस्पतालको सञ्जालमा जोडेर काम अघि बढाइने उनले बताए । ‘अब जुन अस्पतालमा जे आवश्यक छ त्यहाँ पीजीका कार्यक्रमहरू आलोपालो गरी सञ्चालन गर्नेछौं । त्यसले प्रदेशका अस्पतालको क्षमता विकास हुन्छ भने रेफरल सिस्टममा पनि सुधार आउनेछ’, उपकुलपति डा. अकुर साह भने, ‘सातवटै प्रदेशमध्ये सबैभन्दा बढी जनघनत्व भएको प्रदेश हो यो ।
काठमाडौंपछि सबैभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन हुने जिल्लाको रूपमा धनुषा र महोत्तरी छन् । जनकपुर अहिले पनि तराईका पाँच बढी जिल्लाको रिफरल सेन्टर छ । एमडीएमएस सुरु भएपश्चात् अस्पतालका सेवा थप प्रभावकारी हुन्छन् । जनताले पहिलेभन्दा अहिले प्रभावकारी स्वास्थ्य सेवा पाउँछन् । मधेसका लागि निकै नै महत्त्वपूर्ण उपलब्धि हो । प्रतिष्ठानको सेवाले बेग्लै उचाइ लिनेछ ।’
शिक्षाको हब
मधेस स्वास्थ्य विज्ञान प्रष्तिठान स्थापनासँगै पहिलो वर्षमा स्नातक तहको चार विधामा कार्यक्रम सञ्चालन गरिएको छ । जसमा बीएनएस, बीएस्सी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटीको कक्षा सञ्चालन भइरहेको छ । यसैगरी स्नाकोत्तर तहतर्फ एमडी इन् अब्सट्रेटिक्स एन्ड गाइनोक्लोजी, एमडी इन् पेडियाट्रिक्स, एमडी इन् इन्टरनल मेडिसिन र एमडी इन् जेनरल सर्जरीमा अध्ययन अध्यापन भइरहेको छ ।