वीरगञ्ज | भारतको बिहार, समस्तीपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बारा जिल्लाका तीर्थयात्रुहरूको वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार गरिएको छ। झारखण्डस्थित वैद्यनाथ धाम (देवघर) मा जल चढाउन गएका तीर्थयात्रुहरू सवार बस आइतबार बिहान समस्तीपुरमा दुर्घटनामा परेको थियो।
बारागढी गाउँपालिका वडा नम्बर ३ का ४३ जना तीर्थयात्रु सवार रहेको ना ७ ख ६४४६ नम्बरको बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। उक्त दुर्घटनामा परेका २२ जना घाइते यात्रुहरूलाई वडाध्यक्ष उमेश साह कानुको समन्वयमा सोमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
नारायणी अस्पतालको सामाजिक सेवा इकाईअन्तर्गत घाइतेहरूको निःशुल्क उपचार गरिएको अस्पतालका शाखा प्रमुख सोनालाल चौरसियाले जानकारी दिए। उनका अनुसार १९ जना घाइतेलाई निःशुल्क उपचारपछि घर पठाइएको छ भने बाँकी यात्रुहरूको पनि उपचार भइरहेको छ।
समस्तीपुरको नेशनल हाइवेमा भएको दुर्घटनामा परेका तीर्थयात्रुहरूको उपचारमा वडाध्यक्ष साहको सक्रिय भूमिकाले दुर्घटनामा परेकाहरूको तत्काल उपचार सम्भव भएको थियो। यसले गर्दा स्थानीय बासिन्दाहरू सुरक्षित रूपमा फर्किन सक्ने अवस्था बनेको हो।