वीरगञ्ज । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहलाई पार्टी नेतृत्वबाट पद छाड्न चर्को दबाब परेको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहलाई दुई महिनाभित्र पदबाट राजीनामा दिन निर्देशन दिएका छन्।
काठमाण्डौस्थित खुमलटार निवासमा प्रदेशसभा सदस्यहरूसँगको छलफलपछि अध्यक्ष प्रचण्डले साहलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। माओवादी संसदीय दलका ६ जना प्रदेशसभा सदस्यहरूले गत असारमा साहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
माओवादी संसदीय दलको कार्यालयमा पूर्वमन्त्रीसमेत रहेका नेता साहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि अध्यक्ष प्रचण्डले दलका सबै ९ जना प्रदेशसभा सदस्यलाई काठमाण्डौ बोलाएका थिए। सभासद्हरुले छलफलको क्रममा आफ्नो असन्तुष्टि स्पष्ट रूपमा व्यक्त गरेपछि प्रचण्डले साहलाई पदीय मर्यादा कायम राख्दै राजीनामा दिन निर्देशन दिएका हुन्।
छलफलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङलगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। प्रदेशसभा सदस्यहरूले साहमाथि विभिन्न आरोपहरू लगाएका छन्, जसमध्ये अनियमितता, गुटबन्दी, र अन्य पार्टीका नेतासँग गोप्य वार्ता गरेको आरोपहरू मुख्य छन्।
माओवादी केन्द्रको संसदीय दलको विधानअनुसार दलका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्यले दलको नेतामाथि अविश्वास प्रस्ताव पेस गर्न सक्ने व्यवस्था रहेको छ। यदि साहले दुई महिनाभित्र राजीनामा नदिएमा संसदीय दलको बैठकबाट दुई तिहाई प्रदेशसभा सदस्यहरूले दर्ता गराएको अविश्वास प्रस्तावलाई अघि बढाएर नयाँ नेता चयन गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ।
मधेश प्रदेशमा माओवादीभित्रको आन्तरिक कलहका कारण पार्टी संगठन कमजोर हुँदै गएको र नेताहरूबीचको विभाजनले पार्टीलाई धराशायी हुने स्थिति सिर्जना भएको स्थानीय नेताहरूले बताउन थालेका छन्।