वीरगंज | बाराको महागढ़ीमाई नगरपालिका विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा जुटेको छ। नगर प्रमुख उपेन्द्र यादवले मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउनका लागि तयारीहरू तीव्र बनाइएका जानकारी दिएका छन्। प्रत्येक पाँच वर्षमा लाग्ने यस मेलालाई व्यवस्थित बनाउन विभिन्न आवश्यक कार्यहरू जारी छन्।
नगर प्रमुख यादवका अनुसार दक्ष प्राविधिक टोलीलाई खटाएर पार्किङ व्यवस्थापनको कामलाई अगाडि बढाइएको छ। मेला हेर्न आउने भक्तजनहरूको सुविधा सुनिश्चित गर्न पूर्व, पश्चिम, उत्तर, र दक्षिण चार वटा दिशामा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे मोटरसाइकल र साईकलको पार्किङ व्यवस्था गरिएको छ। यसका लागि अनुगमन र निरीक्षण गरेर उपयुक्त स्थान चयन गरिएको छ।
यस वर्षको मेला भव्य बनाउनका लागि भक्तजन, प्रचार प्रसार समिति, विभिन्न शक्तिपीठका गुरुहरू, राष्ट्र प्रमुख राष्ट्रपति, विभिन्न मन्त्री र उद्योगपतिहरूलाई शोभायात्रा र उद्घाटन समारोहमा सहभागी गराउन निमन्त्रणाका लागि काम सुरु भएको नगर प्रमुख यादवले बताए।
खानेपानी व्यवस्थापनका लागि १०० भन्दा बढी सार्वजनिक धाराहरू जडान गरिएको छ। भारतका रक्सौल, आदापुर, छौडादनो, घोडासाहन लगायतका नाकाबाट गढीमाईसम्मको बाटोलाई विभिन्न स्थानिय तहहरूसँगको समन्वयमा कालोपत्रे गरिएको छ। बाँकी सडकहरूको काम चाँडै पूरा गरिने योजना रहेको उनले जनाए।
मेलामा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको छ। नगर प्रहरीहरूको संख्या बढाइएको छ र महागढ़ीमाई नगरपालिका क्षेत्रमा पर्ने मठमन्दिरहरूको दिनहुँ सरसफाई सुनिश्चित गरिएको छ। मुल बाटो र चोकहरूमा सोलार बत्ती र टावर लाइट जडान गरिएको छ, जसले सम्पूर्ण क्षेत्रलाई राम्रो प्रकाश र सुरक्षा प्रदान गर्नेछ।
विगतको वर्षको परम्परा अनुसार, यस वर्ष पनि दशैंको घटस्थापनाको दिन अर्थात् आश्विन १७ गते राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भव्य शोभायात्रा उद्घाटन गरिने योजना छ। नगर प्रमुख यादवका अनुसार मेलाको तयारीका ८० प्रतिशत कार्य सम्पन्न भइसकेका छन्।