वीरगंज | कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरपालिकाका व्यवसायीहरूले शुक्रबार आफ्नो व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको यस आन्दोलनमा व्यवसायीहरूले उपमहानगरपालिका कार्यालयमा धर्ना दिएका छन्।
आन्दोलनमा सामेल भएका व्यवसायीहरूले आफ्नो व्यवसायिक सटरको साँचो उपमहानगरपालिकालाई बुझाउने तयारी गरेका छन्। प्रदर्शनको क्रममा प्रहरीको रोकथाम प्रयासलाई चुनौती दिँदै, व्यवसायीहरूले प्रहरीलाई धकेल्दै कार्यालय परिसरभित्र प्रवेश गरेका छन् र नाराबाजी गरेका छन्।
संघका उपाध्यक्ष उज्वल चौलागाईंले व्यवसायीहरूलाई उत्तेजित बनाउन प्रहरी परिचालन गरिएको आरोप लगाउँदै, जस्तोसुकै घेरा तोड्न तयार रहेको चेतावनी दिएका छन्। उनले उपमहानगर नेतृत्वलाई व्यवसायीहरूले बन्द गरेका सटरको साँचो बुझिलिन आग्रह गरेका छन्। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लाका १६ वटा व्यवसायिक संस्थाका व्यवसायीहरू यस आन्दोलनमा सहभागी भएका छन्।