वीरगञ्ज । वीरगञ्जको पानीटंकीस्थित लिटिल बडी प्रिस्कुलमा निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । स्माईल डेन्टल केयर एण्ड पोलि क्लिनिकको समन्वयमा प्रिस्कुलले शिविरको आयोजना गरेको हो ।
विद्यार्थीहरुलाई सानैदेखि दाँतको हेरचाह गर्न सिकाउनका लागि स्कुलले दन्त शिविरको आयोजना गरेको स्कुलका प्रिन्सीपल बिजय कुमार बलले बताए । उनकाअनुसार शिविरमा चेकजाँच गर्ने चिकित्सकको परामर्श र सुझावअनुसार बालबालिकाले दाँतको हेरचाह गर्ने बानीको बिकास गर्छन् । शिविरमा चेकजाँच गराएका विद्यार्थी, शिक्षक र अभिभावकले क्लिनिकमा चेकजाँच गराउँदा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनीकले २५ प्रतिशत छुट दिने पनि उनले जानकारी दिए ।
प्रिन्सीप लबलकै अध्यक्षतामा सम्पन्न शिविरमा दन्त चिकित्सक डा. आमिर आलम, डा. निकिता ठाकुर र डा. भावना कुमारी झाले चेकजाँच गरेका थिए । विद्यार्थीको चेकजाँच गर्दा अभिभावकलाई पनि सँगै राखेर दाँतको हेरचाह कसरी गर्ने भन्ने बारेमा पनि सिकाइएको डा. आमिर आलमले बताए ।
पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीलाई व्यक्तिगत सरसफाईका बारेमा जानकारी गराउँदा यसले विद्यार्थीको मानसिक र शारिरीक स्वास्थ्यमा ठूलो सघाउ पुग्ने उनको विश्वास छ । अरु सबै कुराको चेकजाँच गराएपनि दाँचको परीक्षा नदुख्दा सम्म नगराउने प्रवृतिको अन्त्य गर्नुपर्नेमा डा. आलमले जोड दिए ।
सानो उमेरमा बालबालिकाले धेरै गुलियो खानेकुरा खाने भएकाले सानैदेखि दाँतको सुरक्षाका बारेमा सचेत हुनुपर्ने डा. निकिता ठाकुरले बताइन् । बच्चाको दाँचको सुरक्षाका लागि अभिभावकले लापरवाही गर्न नहुने उनले सुझाव दिइन् । स्कुलमा अध्ययनरत विद्यार्थीसँगै शिक्षक, शिक्षिका, अभिभावक एवम् स्थानीय गरी करिब दुई सय जनाको चेकजाँच गरिएको स्कुलका लेखा प्रमुख दिपु वर्णवालले जानकारी दिए ।