वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौंको ग्लोबल इन्टरनेसनल, ललितपुरको नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेज, र जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङमा विद्यार्थी भर्नामा रोक लगाएको छ। शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले यी कलेजहरूमा विद्यार्थी भर्ना रोक्ने निर्णय गरेको हो।
ग्लोबल इन्टरनेसनलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको, कश्यप इन्स्टिच्युटको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको, र नेपाल एजुकेसन फाउन्डेसन स्थानान्तरण प्रक्रियामा रहेकाले भर्नामा रोक लगाइएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले ५६ विदेशी सम्बन्धन प्राप्त कलेजहरूको सूची पनि सार्वजनिक गरेको छ, जसले मन्त्रालयबाट अनुमति लिई नियमित नवीकरण, लेखापरीक्षण र कर चुक्ता गरेका छन्।