वीरगंज | प्रादेशिक अस्पताल जनकपुरमा एक महिलालाई डाक्टरहरुको टीमले आफ्नै रगत दिएर ज्यान बचाउन सफल भएका छन् ।
प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएकी धनुषा सबैला नगरपालिका वडा नं. ७ मखनाहा बस्ने बर्ष ३० की हसिना खातुनलाई अस्पतालका डाक्टरहरुले आफ्नै रगत दिएर ज्यान जोगाईदिएका छन् । अप्रेशनमा सँलग्न डाक्टरहरुले रगतको अभाव भएपछि आफ्नै रगत दिएर अप्रेशन गर्न भ्याए ।
गत विहिबार साउन २४ गते जनकपुरको प्रादेशिक अस्पताल ओपिडीमा भर्ना भएकी हसिना खातुनको पेटमा बच्चा मरिकेको थियो । साढे ६ महिनाको बच्चा पेटमै मरेपछि व्यथा लोगकी हसिना अस्पताल भर्ना भएकी थिईन् ।
अस्पतालका डाक्टर राजदेव महतो नेतृत्वको चिकित्सक टिमले बच्चालाई निकाल्ने प्रयास गरे । बच्चाको दुई दिन अगाडी नै पेटमै मृत्यू भईसकेकोमा बच्चालाई औषधी मार्फत निकाल्ने प्रयास गरिएको थियो । बच्चा मृत अवस्थामा निस्किएपछि हसिनालाई रक्तश्राव सुरु भएको थियो । उनको रक्तश्राव सुरु भएपछि ५ पोका रक्त चढाएको थियो । त्यसपछि समेत उनको रक्तश्राव नरोकिएपछि उनलाई अप्रेशन गरी पाठेघर निकाल्नुपर्ने बाध्यता भएको थियो ।
अप्रेशनको समयमा नेपाल रेडक्रस सोसाईटीमा रक्त अभाव भएपछि डा. महतोसहित उनका टिमले नै आफ्नै रक्त दिएर उनको अप्रेशन समेत गरेको थियो । तुरुन्तै रगत दिएर तुरुन्तै अप्रेशनमा लागेका डा. राजदेव महतोले पाठेघर निकालेर उनको ज्यान जोगाउन सफल भए । हसिनाको तीन बालबच्चा छन् । पेटमा चौथो बच्चा थियो ।
विहिबार भर्ना भएकी खातुनलाई गत शनिबार अप्रेशन गरिएको थियो । मुख्य सर्जन डा. राजदेव महतोको नेतृत्वमा डा. चन्द्र रेखा ईसार, डा. पिँकी साहले अपरेट गरेको थियो । सो टीममा डा. जीतेन्द्र कुमार साह, डा. स्वेच्छा कार्की, डा. नितु झा, डा. विमलेन्द्र चौधरीले सहयोग गरेको थियो । एनेस्थेसियाको लागि डा. अमित कर्णले सहयोग गरेका थिए ।