बारा | बाराको निजगढमा १३ वर्षीया बालिका सामुहिक बलात्कारको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति निजगढ नगरपालिका–४ का ३३ वर्षीय सन्जोग खतिवडा र निजगढ–५ का २७ वर्षीय दिनेश चौलागाईं हुन्।
पीडित बालिका मंगलबार दिउँसो गृहकार्यको काँपी लिन घर फर्किंदै गर्दा जबरजस्ती करणीको सिकार भएकी थिइन्। बालिकाले प्रहरीलाई दिएको बयान अनुसार, मोटरसाइकलमा आएका दुईजना व्यक्तिले पहिला केही पैसा र मिठाई दिएर आफूलाई फकाएका थिए र त्यसपछि बलात्कार गरेका थिए।
घटनाको जानकारी पाएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। घटनामा संलग्न रहेका आरोपीमध्ये सन्जोग खतिवडालाई मंगलबार राति ११ बजे उनको साथीको घरबाट र दिनेश चौलागाईंलाई घर नजिकैबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। खतिवडा केही समयअघि लागुऔषध मुद्दामा जेल सजाय काटेर छुटेका थिए।
पीडित बालिकाको निजगढस्थित सामुदायिक अस्पतालमा प्रारम्भिक शारीरिक परीक्षण गरिएको र बलात्कार पुष्टि भएपछि थप परीक्षणका लागि उनलाई प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै, निजगढको सामुदायिक विद्यालयले बुधबार एक सूचना जारी गर्दै अभिभावकहरूलाई आफ्ना नानीबाबुहरूलाई बिहान १० बजेभित्र विद्यालयमा सुरक्षित रूपमा प्रवेश गराउन आग्रह गरेको छ। साथै, कक्षा सञ्चालन भइरहेको समयमा विद्यालयको गेट बन्द रहने र नर्सरी, एलकेजी, युकेजी कक्षाका विद्यार्थीहरूलाई ३:२० देखि ३:३० बजेसम्ममा लिन आउन अनुरोध गरिएको छ।
घटनाले स्थानीय बासिन्दाहरूमा त्रास फैलाएको छ। एक स्थानीय शिक्षिका भन्छिन्, “बालिका सुरक्षित छन् भनेर कसरी विश्वास गर्ने? यो नगरलाई कसरी सुरक्षित बनाउने?” उनले बालिकाहरूको सुरक्षाको सवालमा थप कदम चाल्नुपर्ने आवश्यकता रहेको बताइन्।