सर्लाही | सर्लाहीको हथिऔलमा आज मनुष्मारा खोलामा डुबेका बालिकाहरुलाई बचाउन गएका एक वृद्धकै डुबेर मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्।
घटना बलरा नगरपालिका–१, हथिऔलमा बिहान १० बजेतिर भएको हो। घाँस काटेर घर फर्किरहेका १२ वर्षीया निशाकुमारी गिरी र १५ वर्षीया पिङ्की कुमारी गिरी मनुष्मारा खोलामा डुबेको देखेपछि ६० वर्षीय गजेन्द्र साह उनीहरूलाई बचाउन भनी खोलामा पसेका थिए।
तर, साह स्वयं खोलामा डुबेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। साहको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
डुबेका बालिकामध्ये निशाकुमारी गिरी अझै बेपत्ता छिन्। उनको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन्। यद्यपि, पिङ्की कुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएकी छिन्।