वीरगंज ।सरकारी चिकित्सकले निजी अस्पतालमा काम गरेर विज्ञापन गर्न नपाइने भएको छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले निजि अस्पतालमा काम गर्ने र आफ्नो प्रचार संचारमाध्याममा गर्न थालेपछि मन्त्रालयले चिकित्सकमाथि कडाइ गर्न खोजेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यालय समयमा निजीमा काम गरेको भन्ने गुनासो आएको भन्दै निगरानी अगाडि बढाएको छ।
मन्त्रालयले निगरानीका क्रममा कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको फेला परेमा कानुन अनुसार कारबाही गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको हस्ताक्षरसहित सार्वजनिक नर्देशनात्मक पत्र अनुसार कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यस्ता प्रकारका गतिविधि एवं क्रियाकलाप गरे गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानून बमोजिम हुने उल्लेख छ।
मन्त्रालय र अन्तरगतका विभाग, अस्पताल, केन्द्र तथा मातहतका निकाय एवं कार्यालयमा कार्यरत चिकित्सक स्वास्ख्यकर्मी तथा कर्मचारीहरूले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी जाँच गर्ने लगायतका काम गर्ने र सो प्रयोजनको लागि विभिन्न सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेको भन्ने गुनासो आएपछि मन्त्रालयले ध्यानाकर्षण गर्दै सार्वजनिक सूचना निकालेको हो।
‘मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा यसरी सरकारी स्वास्थ्य संस्था बाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरित हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ,’ मन्त्रालयको पत्रमा भनिएको छ