नयाँदिल्ली । पतञ्जलिले उत्पादन गरेका १४ किसिमका औषधिको लाइसेन्स खारेज भएको छ । भारतको उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनीले उत्पादन गरेका १४ किसिमका औषधिको लाइसेन्स खारेज गरेको हो । सरकारले लाइसेन्स खारेजबारे सर्वोच्च अदालतलाई जानकारी दिएको हो ।
रामदेव, पतञ्जलिका महाप्रबन्धक आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध लागू औषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक उजुरी पनि दायर गरिएको छ । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वासारी गोल्ड, स्वासारी वाटी, ब्रोन्कोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जलि दृष्टि आई ड्रप पनि समावेश छन् ।
उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा दिएको शपथ पत्रमा यस्तो जवाफ दिएको हो । सर्वोच्च अदालतमा रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक बालकृष्णविरुद्ध अदालतको आदेशको अवहेलना गरेको मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा राज्य सरकारले यो कारबाही गरेको हो । पतञ्जलिले हालै मात्र पत्रपत्रिकामा माफीनामा छापेको थियो । एजेन्सी