वीरगञ्ज । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि वीरगञ्जको चिनीमिलस्थित पशुपतिनाथसँगै अलखिया मठ लगायतका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुधेश्वरनाथ भाठा धाममा पनि पनि भक्तजनको भिड छ । पर्सा मात्रै नभएर अन्य जिल्लासँगै भारतीय भक्तजन पनि भाठाधाममा पुग्ने गरेको पर्साको पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बताइन् ।
वीरगञ्जको अलखिया मठस्थित मन्दिरमा पनि भक्तजनको भिड भएपछि सो क्षेत्रमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । सवारी आवागमन प्रभावित नहोस् भन्नका लागि र भक्तजनको व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।