वीरगञ्ज । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत अजय कुमार श्रीवास्तवमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको छ। दशौं तह प्रशासन तर्फ उपसचिवको दरबन्दी भएतापनि स्वास्थ्य क्षेत्र तर्फका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले प्रशासनिक अनुभव नहुँदा पनि भ्रष्टाचारको ताण्डव मच्चाइरहेको आरोप लगाइएको छ।
अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्रीलाई भेटेर अषाढ २७ गते म्याद थप गराएको स्रोतले जनाएको छ। पोखरिया नगर प्रमुख प्रद्युमन चौहानको आशीर्वादले एक वर्षदेखि रजगज गरिरहेका श्रीवास्तवले पोखरिया बजारको ठेक्का असुलीमा व्यापक भ्रष्टाचार गरिरहेको आरोप छ।
सूत्रका अनुसार, श्रीवास्तवले ठेक्केदार शिवनाथ साह तेलीलाई साउन १ गतेदेखि लागु हुने गरी ठेक्का पुनः नविकरण नगरी मौखिक आदेशमा असुली गर्न आदेश दिएका थिए। यसैगरी, पोखरिया बजारको कृषि सेडमा रहेका कोठाहरुबाट बिना सटरवाला कोठाबाट मासिक ५ हजार र सटरवाला कोठाबाट ७ हजारको दरले असुली गर्दै आएका छन्।
नगरपालिकाको कर्मचारीहरुले करिब ६ महिनादेखि तलब नपाएको अवस्थामा, श्रीवास्तवको नेतृत्वमा भ्रष्टाचार व्यापक भएको छ। श्रीवास्तवको भ्रष्टाचारमा सहयोग गर्ने जिन्सी प्रमुख मनोज साह पनि आरोपित छन्।
राष्ट्रिय सतर्कता केन्द्रले श्रीवास्तवको गयल हाजिरीको सन्दर्भमा छानबिन गरी राय सहित पत्र पठाउन जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ। तथापि, प्रशासन कार्यालयले हालसम्म पत्र नपठाएको स्रोतले जनाएको छ।
श्रीवास्तवले छानबिनबाट बच्न लाखौं खर्च गरेर बिचौलियाहरू परिचालन गरेका भए तापनि, प्रशासनले आफ्नो कर्तव्यबाट पछि नहट्दा, उनी शुक्रबार १८ गतेका दिन जिन्सी प्रमुख मनोज साहलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा हारगुहार गर्न पुगेका थिए।
यस भ्रष्टाचारको घटनाले पोखरिया नगरपालिकामा प्रशासनिक शुद्धताको आवश्यकता उजागर गरेको छ। अनुसन्धानको प्रक्रियाले साँचो तथ्य बाहिर ल्याउने आशा गरिएको छ।