हैजा जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ।
यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको रोग” भनी व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ।
अफ्रिका र एशियाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा बस्ने मानिसहरू यसबाट बढी प्रभावित भएको पाइएको छ।
डब्ल्यूएचओको अनुमानअनुसार प्रत्येक वर्ष यो रोगका करिब १३ देखि ४० लाख बिरामीहरू देखिन्छन् र विश्वभरि २१ हजारदेखि १४३,००० मानिसहरूको मृत्यु हुने गर्छ।
‘भिब्रिओ कोलरी’ भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ।
यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ।
सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन्।
यद्यपि डब्ल्यूएचओका अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन।
लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ। यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ।
हैजाको सङ्क्रमण भएपछि देखिने लक्षणहरू यस प्रकार छन्:
शरीरमा पानी कम हुँदा त्यसले रगतमा खनिज पदार्थ एकदमै कम भएर जान्छ। यसलाई ‘इलेक्ट्रलाइट असन्तुलन’ भन्छन्।
मध्यम खालको पखाला लाग्नुलाई हैजा भनेर अन्य बिमारीसँग झुक्किएको हुन सक्छ।
घानाका लागि ‘वाटरएड’की स्वास्थ्य नीति विज्ञ आइरिन ओवुसु-पोकुले प्रयोगशालाको अनुसन्धानबाट मात्रै हैजाको पहिचान हुने बताइन्। तर “सङ्केतहरू भने सबैले स्पष्ट नियाल्न सक्छन्,” उनले भनिन्।
“यदि तपाईँ बारम्बार शौचालयको प्रयोग गर्नुपर्छ, पखाला लागेको छ र बान्ता हुन्छ अनि पेट दुखेको छ र यो क्रम तीन दिनसम्म देखियो भने तपाईँले हैजा भएको शङ्कामा अस्पतालमा देखाउनुपर्छ”, उनले थपिन्।
भिब्रिओ कोलरी नामक जीवाणुका कारण दूषित भएको खाना खाए वा पानी पिए हैजा लाग्छ।
लक्षण नदेखिने बिरामीहरूले अरूलाई सङ्क्रमित गर्ने जोखिम उच्च रहन्छ किनभने उनीहरूले आफू सङ्क्रमित भएको एकदेखि १० दिनसम्म दिसाबाट अरूमा जीवाणु सार्न सक्छ्न।
आइरिनका अनुसार लक्षण नदेखिएका बिरामीहरूले पनि जीवाणुलाई खुल्ला शौच हुने क्षेत्रबाट अन्य व्यक्तिमा सार्न सक्छन् किनभने त्यहाँ सरसफाइका उपाय अनि सफा पानीको पहुँच त्यति हुँदैन।
विश्व स्वास्थ्य सङ्गठनले त्यसरी सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताबाट आफूलाई हैजा सर्ला भनेर सचेत हुनुपर्ने बताएको छ। त्यसबाहेक हैजाका कारण मृत्यु भएको शरीरबाट पनि जोगिनुपर्ने जनाएको छ।
यूकेको न्याश्नल हेल्थ सर्भिस (एचएचएस) ले हैजा भेटिएको क्षेत्रमा जाँदा कसरी जोगिने भनेर सुझावहरू दिएको छ :
हैजाको उपचार सहजै गर्न सकिन्छ। ‘ओआरएस’ अर्थात् ‘जीवनजल’लगायतका पदार्थ पिएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ।
डब्ल्यूएचओको मापदण्डअनुसार ‘ओआरएस’को एउटा प्याकेटमा भएको पाउडरलाई एक लिटर सफा पानीमा मिसाउनुपर्छ।
उसका अनुसार ‘ओआरएस’ स्वास्थ्यकर्मीबाट लिन सकिन्छ वा घरमै पनि नुन र चिनी मिसाएर बनाउन सकिन्छ। त्यसरी घरमा बनाउँदा एक लिटर पानीमा छ चिया चम्चा चिनी र एक चम्चा नुन मिसाएर बनाउनुपर्छ।
वयस्कलाई मध्यम स्तरमा शरीरमा पानीको कमी हुँदा पहिलो दिनमा छ लिटरसम्म जीवनजल चाहिन सक्छ।
केही बिरामीलाई भने ‘इन्ट्राभीनस रिहाइड्रेशन’जस्तो थप उपचार पनि आवश्यक पर्न सक्छ।
पखालाको अवधि घटाउनका लागि बिरामीलाई उचित खालको एन्टिबायोटिक औषधि पनि दिइन्छ, जसले गर्दा पानीको आवश्यकतासँगै हैजा सङ्क्रमण गराउने ब्याक्टेरियाको मात्रा र अवधि कम हुन्छ।
उचित स्याहार गर्दा धेरै मानिसहरू हैजाबाट छिट्टै निको हुन्छन् र उपचार गर्न गएकाहरू पनि तीन दिनभित्रै अस्पतालबाट उपचार गरेर घर जान पाउँछन्।
आइरिनका अनुसार सरकारहरूले “खास गरी कम र मध्य-आय भएका देशहरूमा सफा पानी, सरसफाइ र स्वच्छतामा लगानी गर्नुपर्छ।”
डब्ल्यूएचओ र युनिसेफको एक संयुक्त प्रतिवेदनले सन् २०२२ मा यस्तो अनुमान गरेको थियो :
सन् २०१७ को अक्टोबरमा ५० भन्दा बढी संस्थाहरू (गैरसरकारी संस्था, शैक्षिक संस्था, संयुक्त राष्ट्रसङ्घका निकाय) को साझेदारी रहेको ‘ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोल (जीटीएफसीसी)’ ले हैजा नियन्त्रणसम्बन्धी रणनीति ल्याएको थियो।
उक्त समूहले हैजाका कारण हुने मृत्यु ९० प्रतिशतले कम गर्ने र सन् २०३० सम्ममा २० वटा देशहरूमा हैजा उन्मूलन गर्ने लक्ष्य राखेको छ।