वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दुई पटक अनुसन्धान गरी टुंग्याएको पुरानो मुद्दामा पुनः एक व्यापारीलाई पक्राउ गरी हिरासतमा राखेको छ। यो घटना वीरगञ्जका उद्योगी तथा व्यापारीहरुलाई सशंकित बनाएको छ।
बुधबार, जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका उद्योगी निरन्जन अग्रवाललाई झुठो विवरण पेश गरी नागरिकता लिएको आरोपमा पक्राउ गरी हिरासतमा राखेको हो। प्रहरी उपरिक्षक कुमुद ढुंगेलका अनुसार, अग्रवालले जन्मको आधारमा २०६३ सालमा नागरिकता लिएका थिए तर २०५१ मा आफू भारतीय नागरिक उल्लेख गरी सवारी चालक अनुमतिपत्र लिएको भन्दै उजुरी परेकाले पक्राउ गरिएको हो।
यो मुद्दामा विगतमा पटकपटक उजुरी परेपछि जिल्ला प्रशासन, प्रहरी, परराष्ट्र मन्त्रालय, भारतीय महावाणिज्य दूतावास, र यातायात व्यवस्था कार्यालयलगायतका निकायले छानविन गरिसकेका थिए। प्रशासनले दुई पटक छानविन गरी कुनै प्रमाण फेला नपरेको भन्दै मुद्दा तामेलीमा राखेको थियो।
स्रोतका अनुसार, २०७१ साल जेठमा परेको उजुरीमा अग्रवालले भारतीय राहदानी प्रयोग गर्दै आएको भनिएको थियो। तर, नारायणी अञ्चल यातायात र परराष्ट्र मन्त्रालयमार्फत भारतीय महावाणिज्य दूतावासले सो राहदानी अग्रवालको नाममा जारी नभएको पुष्टि गरेका थिए।
प्रशासनले सोही आधारमा मुद्दा तामेलीमा राखेको थियो। तर, अहिले पुनः एक उजुरी परेको भन्दै प्रहरीले अग्रवाललाई पक्राउ गरेको छ। यस घटनाले वीरगञ्जका उद्योगी व्यापारीहरूमा त्रासको वातावरण सिर्जना गरेको छ।
वीरगञ्जका उद्योगी अगुवाहरूले पर्साका एसपी कुमुद ढुंगेलको कामको आलोचना गर्दै यो व्यापारीलाई आतंकित पार्ने र मनोबल गिराउने काम भएको बताएका छन्। व्यवसायीहरूका अनुसार, आधार र प्रमाणविना पटकपटक उजुरी हाल्ने कार्यले राज्यको समय र स्रोतसाधनको दुरुपयोग भइरहेको छ र संलग्न सबै पक्षलाई कारवाही हुनुपर्ने माग गरेका छन्।
अग्रवालविरुद्ध यस पटक स्थानीय नरेश ठाकुरले उजुरी दिएको बताइएको छ। यसअघि वीरगञ्ज ६ का वृजकिशोर पण्डित र वीरगञ्ज ३ छपकैयाका सन्तोषकुमार सिंहले उजुरी दिएका थिए।
व्यापारीहरूका अनुसार, बारम्बार एउटै व्यक्तिमाथि उजुरी हाल्दा र आरोप ठहर नहुँदा व्यवसायीहरूमा निराशा र असुरक्षाको भावना बढेको छ।