वीरगंज । आज हरि खेतान बहुमुखी क्याम्पस, वीरगंजमा कानुन संकायको नमुना इजलासको समुद्घाटन र
एच के एम सि रिसर्च भिजन जर्नल को विमोचन समारोह सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय कानुन संकायका डीन आदरणीय प्रा.डा. कृष्ण प्रसाद बस्यालको प्रमुख आतिथ्यमा यो कार्यक्रम सम्पन्न भयो।
क्याम्पस प्रमुख किशोरी राय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस संचालक समितिका संस्थापक सदस्य डा. राम अवतार खेतान, सल्लाहकार तथा ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतान लगायतका बिशिष्ट अतिथिहरूको उपस्थिति थियो। कार्यक्रममा पत्रकार, विधार्थी तथा शिक्षक कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यो नमुना इजलास कानुन संकायका विद्यार्थीहरूको व्यावहारिक ज्ञान र अनुभव वृद्धिका लागि एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। साथै, एच के एम सि रिसर्च भिजन जर्नलले क्याम्पसका शोधकर्ताहरूका लागि अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।