वीरगञ्ज । सांसद प्रभु साहले नेपालमा भएका हवाई दुर्घटनाहरूले देशको इमेज विश्वभर ध्वस्त बनाएको बताएका छन्। उनले विशेष रूपमा युरोपेली आकाशमा नेपाली जहाज प्रतिबन्धको प्रसंग उठाउँदै यो कुरालाई जोड दिएका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले यी दुर्घटनाहरूको जिम्मेवारी कसले लिने भनेर प्रश्न उठाए। उनले छानबिन समितिहरू गठन हुँदा साना कर्मचारीहरूलाई मात्र दोष देखाउने प्रचलन रहेको र सरकार तथा प्राधिकरणले नैतिक जिम्मेवारी लिनुपर्ने बताए। साहले भने, ‘जनताप्रति उत्तरदायी सरकार हो भने जिम्मेवारी लिनुपर्छ।’
साहले हवाई दुर्घटनाहरूले नेपालको सरकार कुन तरिकाले चलेको छ भन्ने कुराको प्रतिबिम्ब रहेको बताए। त्यस्तै, जहाज दुर्घटना हुँदा प्रधानमन्त्री र राज्य संयन्त्र घटनास्थलमा चाँडै पुगेको, उद्धार कार्य पनि छिटो भएको तर १५ दिन अगाडिको दुर्घटनामा मानिसहरूको ज्यान बचाउन नसकिएको, लास ल्याउन र जनतालाई राहत दिन सरकार चुकेको साहले उल्लेख गरे। उनले बस दुर्घटनाका पीडितहरूले बीमाको पैसा नपाएको समेत बताए र सरकारलाई विभेदको अन्त्यको उदाहरण प्रस्तुत गर्न आग्रह गरे।