वीरगञ्ज | मधेश प्रदेशमा सवारी दुर्घटनाका कारण वर्षेनी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। बितेको आर्थिक वर्ष २०८०/०८१ मा मात्रै विभिन्न सवारी दुर्घटनामा ५३० जनाले ज्यान गुमाएका छन् भने २,२४९ जना गम्भीर घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीका अनुसार, यस वर्षमा ६,०५८ वटा सवारी दुर्घटनाहरू भएको तथ्यांक छ।
डिआइजी कार्कीका अनुसार सबैभन्दा धेरै दुर्घटना मोटरसाइकलमा भएका छन्। गत वर्ष ८,०५२ वटा सवारी दुर्घटनामा ५,९२६ वटा मोटरसाइकल दुर्घटना परेका छन्। अन्य सवारी साधनहरूमा ट्रक टेकंर २०२, टिपर ५१, डोजर, लोडर, स्काभेटर १२, बस १८५, माइक्रो ५१, जीप/कार ५८२, ट्र्याक्टर ३०२, टेम्पो ४६७, शा.स.चल्ने ७१४ र अन्य ३७ वटा सवारी दुर्घटनामा परेका छन्।
पछिल्ला पाँच आर्थिक वर्षहरूको तथ्यांकअनुसार, मधेश प्रदेशमा कुल २३,०८० वटा सवारी दुर्घटना भएका छन् जसमा २,६०४ जनाले ज्यान गुमाएका छन् भने ९,७९३ जना गम्भीर घाइते भएका छन्।
आर्थिक वर्ष २०७९/०८० मा ५४६ जनाको मृत्यु हुँदा ७,४७२ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष २०७८/०७९ मा ५८५ जनाको मृत्यु हुँदा २,५०९ जना गम्भीर घाइते भएका थिए भने ६,९५५ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष २०७७/०७८ मा ५२३ जनाको मृत्यु हुँदा १,९३० जना गम्भीर घाइते भएका थिए भने ४,०७४ जना सामान्य घाइते भएका थिए।
यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा १,३४० वटा सवारी दुर्घटना हुँदा ४२० जनाको मृत्यु हुँदा ९०५ जना गम्भीर घाइते भएका थिए भने ९६२ जना सामान्य घाइते भएका थिए।
नेपाल प्रहरीले सवारी दुर्घटना रोक्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि दुर्घटनाहरूमा कमी आउन नसकेको देखिएको छ।