वीरगञ्ज | वीरगञ्जको सिर्सिया खोलामा रसायणयुक्त फोहर पानी हाल्ने क्रम चार दिन भित्र रोकिने भएको छ। वीरगञ्ज–पथलैया औद्योगिक कोरीडोरमा सञ्चालित अरनिको टेक्सटाइल, सिद्धी टेक्सटाइल र मरियम लेदर उद्योगका संचालकहरुले वीरगञ्ज महानगरपालिकासँग लिखित प्रतिवद्धता जनाएका छन्।
महानगरपालिकाले नगरक्षेत्रबाट संकलन गरेको फोहर ती उद्योगको मुख्य गेटमै खन्याएपछि उद्योगका संचालकहरु बाध्य भई यस्तो प्रतिवद्धता व्यक्त गर्न पुगेका हुन्।
महानगरपालिकाले उद्योगबाट निस्किएको फोहर पानी सिर्सिया खोलामा मिसाउने उद्योगहरुलाई जरिवाना गर्दै आएको थियो। यसै सिलसिलामा महानगरपालिकाले गरेको ३ लाख रुपैयाँ जरिवाना अरनिको टेक्सटाईल उद्योगले २४ घण्टा भित्र तिर्ने र उद्योगले १५ दिन भित्र पानी प्रशोधन गर्ने प्लाण्ट जडानको प्रक्रिया अगाडी बढाउने लगायतका ४ बुंदे सहमति भएको छ।
बैठकमा सिद्धी टेक्सटाईलका संचालक अशोक मिक्त, अरनिको टेक्सटाइलका संचालक गौरव गाडिया र मरियम लेदरका संचालक फरुख जमईले लिखित प्रतिबद्धता व्यक्त गरेका छन्।
नगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा आयोजित छलफलमा उद्योगपतिहरुले गरेको लिखित प्रतिबद्धता पूरा नभए महानगरपालिकाले कडा कदम चाल्ने चेतावनी पनि दिइएको छ। सिंहले भने, “सिर्सिया नदिमा फोहर पानी मिसाउने उद्योगका संचालकहरुसँग पटक–पटक बैठक बसेर सहमति भएपनि उनीहरुले कार्यान्वयन नगरेको अवस्थामा अब कडा कदम चाल्न बाध्य हुनेछौँ।”
महानगरपालिकाले गरेको जरिवाना नतिर्ने अरनिको टेक्सटाईल उद्योग परिसरमा आजै बिहान महानगरपालिकाका कर्मचारीले १६ ट्र्याक्टर र २ टिपर फोहर खन्याएपछि उद्योगका संचालकहरुले छलफलमा बसी ४ बुंदे प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ।
चार बुंदे सहमति
३ लाख रुपैयाँ जरिवाना २४ घण्टा भित्र तिर्ने। १५ दिन भित्र पानी प्रशोधन गर्ने प्लाण्ट जडानको प्रक्रिया अगाडी बढाउने। सिर्सिया खोलामा फोहर पानी नमिसाउने। महानगरपालिकासँग सहकार्य गर्दै वातावरणीय प्रदूषण रोक्ने प्रयास गर्ने। महानगरपालिकाले उद्योगपतिहरुले गरेको लिखित प्रतिबद्धता कार्यान्वयन नगरे थप कडा कदम चाल्ने जानकारी दिएको छ।