वीरगंज | बम्बई उच्च अदालतले योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदलाई ४ करोड रुपैयाँ भारु जरिवाना लगाएको छ। पतञ्जलिले अगस्ट २०२३ मा अदालतको आदेशको अवज्ञा गरेको भन्दै यो जरिवाना लगाइएको हो। अदालतले पतञ्जलिलाई कपूर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो।
मंगलम अर्गानिक्सले गत वर्ष पतञ्जलिका कपूर उत्पादनहरूले आफ्नो ट्रेडमार्क उल्लङ्घन गरिरहेको भन्दै अदालतमा याचिका दायर गरेको थियो। यस याचिकाको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपूर उत्पादन बिक्री नगर्न आदेश दिएको थियो। तर अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको मंगलमको दाबी छ।
जुलाई २ मा पतञ्जलिले अदालतमा माफी माग्दै अदालतको फैसला पालना गर्ने बताएको थियो। तर, माफी मागे पनि पतञ्जलिले कपूर उत्पादनको बिक्री रोक्न नसकेको भन्दै उच्च अदालतले पतञ्जलिलाई ४ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो। अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको छ।