वीरगंज | पश्चिम नवलपरासीमा गएराति सुतिरहेकाे अवस्थामा एक युवकको घाँटी रेटी हत्या भएको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ५ हर्दीनिवासी उमेश बढईको छोरा वर्ष २० का रोशनकुमार भन्ने सूर्यकुमार बढईको हत्या भएको हो ।
उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी घाँटीमा काटी हत्या भएको प्रहरीले जनाएको छ ।बिहान ५ बजेतिर परिवारले उनको हत्या भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मृतकसँगै एउटै कोठामा सुतेको मृतकका भाइ सन्दीप बढईले समेत घटनाबारे थाहा नपाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले हत्या किन र कसले गरेको नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाए ।
मृतकको शव पोस्टमार्टमका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी लगिएको छ ।