वीरगंज | पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । उक्त स्कुलका विद्यार्थी बोकेको बस बिहान ९ बजे पोखरा-१७, फुस्रेखोलानिर सडकबाट खसेको हो।
पोखरामा सोमबार बिहान दुर्घटना भएको स्कुल बस। घाइतेमा अधिकांश विद्यार्थी रहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।
पोखरा-३१ कृस्तीका ९ वर्षीय अनमोल विक, सोही ठाउँका ५ वर्षीय रोशन बराल, पोखरा-२१, रामदीका १४ वर्षीय दिप्सन कार्की, ६ वर्षकी योजना गुरुङ, १३ वर्षकी डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा विक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विशिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षीया सिम्रन विक र ११ वर्षीय विवश खत्री। उनीहरू गण्डकी मेडिकल कलेजमा उपचाररत छन्।
यस्तै पोखरा-२१ कै ३ वर्षीया सिमन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १३ वर्षका रामकृष्ण नेपाली, २ वर्षका अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीय अस्मित विक, ३० वर्षकी अभिभावक सुमित्रा सुनार, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले र ११ वर्षीय निश्चल सुनारको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
कास्की प्रहरीका अनुसार पोखरा-१७ विरौटा बस्ने ५५ वर्षीय बस चालक टेकबहादुर भुजेल, पोखरा-२१ बस्ने ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको चाहिँ मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको नाक, मुख र डाढमा र केहीको आँखामा पनि चोट लागेको प्रहरीले जनाएको छ।