रौतहट । पछिल्लो समय रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल सङ्क्रमितको सङ्ख्या ४७४ पुगेको हो।
त्यस अघिको आर्थिक वर्ष २०७९–०८० मा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या मात्र ३३२ रहेको थियो। एक वर्षको अवधिमा जिल्लाभरिमा १४२ जना एचआइभी एड्स सङ्क्रमित बढेको सङ्क्रमितहरूको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन्।
सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एड्स सङ्क्रमित देखिएको छ । राजपुरमा ६३ जना सङ्क्रमित रहेको संयोजक मगरले जानकारी दिएकी छिन् । दोस्रोमा इशनाथ नगरपालिकामा अहिलेसम्म ५२ जना सङ्क्रमित रहेका छन्।
चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना सङ्क्रमित रहेका छन्। यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना,फतुवा विजयपुरमा १० ,कटहरियामा २०, बृन्दावनमा १०,गढीमाई मा ११ जना सङ्क्रमित रहेको संयोजक रानाले जानकारी दिइन् । यस्तै माधव नारायण नगरपालिकामा १२, गरुडामा १९, देवाही गोनाहिमा २०, मौलापुरमा १५, बौधीमाइमा २०, परोहामा २५, राजदेबी नगरपालिकामा २५ र यमुनामाइ २१, दुर्गाभगवती गाउँपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख गरेको छ ।
२०७१ साल यता जिल्लामा एचआइभी एड्स रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एड्स शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन् ।
एचआइभी एड्स सङ्क्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्युबाट जोगिनसक्ने डाक्टर ठाकुरले जानकारी दिएका छन् ।
जिल्लाको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरू रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जाने गरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुने गरेको कारण एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ।