वीरगञ्ज । पर्सा जिल्लाका सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रुपैयाँ पूँजीगत खर्च गरेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले कुल पूँजीगत बजेटको ७३ दशमलव ५० प्रतिशत खर्च गरेका हुन्।
कोष नियन्त्रक यज्ञराज उप्रेतीले असार महिनामा मात्र ५१ कार्यालयले ४२ करोड ९८ लाख ७१ हजार एक सय ७० रुपैयाँ पूँजी खर्च गरेको जानकारी दिए। उनले भने, “पर्साका सरकारी कार्यालयहरूको पूँजीगत खर्च सन्तोषजनक रहेको छ।”
सङ्घीय सरकार मातहतका ५१ कार्यालयका लागि चालु खर्चतर्फ १० अर्ब ५९ करोड ४५ लाख ५० हजार तीन सय ६१ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। चालु खर्चको ९५ दशमलव ४५ प्रतिशत अर्थात् १० अर्ब १२ करोड १६ लाख ६९ हजार चार सय ८६ रुपैयाँ खर्च भएको छ। असार महिनामा मात्र १ अर्ब ३० करोड छ लाख दुई हजार सात सय आठ रुपैयाँ चालु खर्च गरिएको थियो।
पर्साका सरकारी कार्यालयहरूले गत आर्थिक वर्षमा पूँजीगत र चालु खर्च गरी कुल ११ अर्ब ९९ करोड तीन लाख ६८ हजार सात सय तीन रुपैयाँ खर्च गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयहरूले १४ अर्ब १५ करोड ३७ लाख आठ हजार तीन सय ८७ रुपैयाँ खर्च गरेका थिए। यसमध्ये चालु खर्चतर्फ १० अर्ब ५८ करोड ५३ लाख ३४ हजार एक सय ६८ र पूँजीगततर्फ ३ अर्ब ५६ करोड ८३ लाख ७४ हजार दुई सय १९ रुपैयाँ खर्च गरिएको थियो।
प्रमुख कोष नियन्त्रक उप्रेतीका अनुसार, पर्साका सरकारी कार्यालयहरूले गत आव २०८०/८१ मा २ खर्ब ७ अर्ब १२ करोड ९३ लाख ९५ हजार छ सय २५ रुपैयाँ राजस्व सङ्कलन गरेका छन्। उप्रेतीले भने, “पर्सा जिल्लाका सरकारी कार्यालयहरूले अघिल्लो आवभन्दा गत आवमा ६ अर्बभन्दा धेरै राजस्व सङ्कलन गरेका छन्।”
आव २०७९/८० मा २ खर्ब १ अर्ब ३९ करोड ८१ लाख १० हजार आठ सय ४२ रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो। उप्रेतीले अर्थतन्त्रका सूचकहरूमा सुधार आएकोले राजस्व सङ्कलनमा वृद्धि भएको बताए। उनले भने, “अघिल्ला वर्षहरूभन्दा भन्सार राजस्वमा सुधार आएको छ र अर्थतन्त्रका सूचकहरूमा सुधार भएकाले राजस्व वृद्धि देखिएको छ।”