वीरगंज । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार आगामी आवको बजेट पेस गर्न लागेकी छिन् । योसँगै सीतारमणले लगातार सातौँ पटक बजेट प्रस्तुत गर्न लागेकी हुन् । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ । बजेट आयकर संरचनामा परिवर्तन र भारतको विदेश व्यापारमा सुधारमा केन्द्रित हुने सम्भावना रहेको बताइएको छ ।
यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौँ बजेट हुनेछ । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो अर्थमन्त्री बन्नेछिन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो । उनले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए । अर्थमन्त्री निर्मला सीतारमणले जुलाई २३ मा बिहान ११ बजे संसदमा २०२४ को आम बजेट प्रस्तुत गर्नेछिन् ।
६० वर्षपछि लगातार तेस्रो पटक कुनै पार्टी सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए । उनले यसलाई अमृतकलको महत्त्वपूर्ण बजेट पनि बताए । यो बजेटले सन् २०४७ मा विकसित भारतको सपनाको जग बसाल्ने उनले भनेका थिए ।