रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले सवारी चेकजाँचको क्रममा आठ लाख बढी राजस्व असुली गरेको छ। सवारी नियम उल्लंघन गर्ने ६७५ जना सवारी चालकहरुलाई कारवाही गर्दै, कुल आठ लाख पचपन्न हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले दिएको जानकारी अनुसार, सवारी नियम उल्लंघन गर्नेहरूमाथि कडा कारवाही गरिँदै आएको छ। उनले भने, “सवारी चेकजाँचको क्रममा नियम उल्लंघन गर्नेहरूमाथि कारवाही गर्दा ठूलो मात्रामा राजस्व संकलन गर्न सफल भएका छौं। यसले सवारी नियम पालनामा सुधार ल्याउन मद्दत गरेको छ।”
प्रहरी निरीक्षक आचार्यले थपे कि ट्राफिक नियम पालन नगर्ने सवारी चालकहरूमाथि कारवाही गर्दै, सडक दुर्घटना र अन्य अप्रिय घटनाहरू रोक्नमा महत्वपूर्ण योगदान पुर्याएको छ।
यस अभियान अन्तर्गत, ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकजाँच र जनचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले सवारी चालकहरूलाई नियम पालनामा प्रोत्साहित गरेको र ट्राफिक व्यवस्थापनमा सुधार ल्याएको बताइएको छ।
ट्राफिक नियम उल्लंघन गर्दा असुली गरिएको राजस्वले जिल्लामा ट्राफिक व्यवस्थापन र अन्य सार्वजनिक सेवाहरूमा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।