चितवन |( शनिबार ) त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ। शनिबार बिहान भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।
मृत भेटिएका युवकको पहिचान ऋषिपाल साह भएको डिएसपी रिजालले जानकारी दिए। उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेबिट कार्डबाट उनको नाम खुल्न आएको हो। तर उनी कुन गाडीमा सवार थिए भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन।
शनिबार दोस्रो दिन बिहान सिमलतालबाट सुरक्षाकर्मीहरूले बेपत्ता गाडी र शव खोजी सुरू गर्दा त्यहाँ बेपत्ता भएकाहरूका आफन्तहरू जम्मा भएका थिए। गोलाघाटमा एकजनाको शव भेटिएको र मृतक ऋषिपाल साह भएको जानकारी गराएपछि त्यहाँ उपस्थित बेपत्ता भएका आफन्तमध्येका एक युवक ऋषि आफ्नो दाइ रहेको बताउँदै गोलाघाटतर्फ गएको प्रहरीले जानकारी दिएको छ।